सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुत्केरीको उद्धार

२०८२ जेठ ६, ०७:१३ खबर संवाददाता

धनगढी : कैलालीमा एक सुत्केरीको उद्धार गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरिएको हो।

बझाङको थलारा गाउँपालिकाकी आचार्यका श्रीमान रोजगारीका लागि भारतमा छन्। श्रीमान् भारतमा रोजगारीमा गएका बेला सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै उनी समस्यामा परेकी हुन्। बाटोमा सुत्केरी व्यथाले च्यापेको अवस्थामा फेला परेकी चन्द्राको पदमा अस्पतालबाट आएको चिकित्सकको टोलीले उद्धार गरेर अस्पताल लगेको हो।

स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर एम्बुलेन्स बोलाएको थियो। सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको प्रहरीले बताएको छ। सुत्केरी महिला र बच्चालाई इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेकी थिइन्। सुत्केरी भएको ठाउँमा पुगेको पदमा अस्पतालबाट एमडीजीपी गणेश फुलारासहितको टोलीले उद्धार गरेको हो। महिलाको साल अड्किएकाले केही जटिल भए पनि बच्चा र आमाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ की चन्द्रा बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा बस्दै आएकी थिइन।

 

कमेन्ट लोड गर्नुस