सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालाले मनायो कला संस्कृति उत्सव 

२०८० असोज २७, ०९:१९ खबर संवाददाता

धनगढीः  धनगढीको चैतन्य पाठशालाले कला संस्कृति उत्सव मनाएको छ। नेपालीहरूको महान चाड वडा दसैं, तिहार र छठ पर्वको पूर्व सन्ध्यामा पाठशालाले कला संस्कृति उत्सव मनाएको हो। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा प्राध्यापक डाक्टर हेमराज पन्त, ऐश्वर्य क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट, वडा अध्यक्ष गजेन्द्रबहादुर शाही, डेउडा गायक भुवन दाहाल र डिक्रादेवीलाई अतिथिमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा शिक्षा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदी, विभिन्न विद्यालयका प्रधानाध्यापक र अभिभावकको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, नाटक लगायतका सांस्कृतिक प्रस्तुति देखाएका थिए। कार्यक्रममा प्राध्यापक डाक्टर हेमराज पन्तले सांस्कृतिक उत्सवले विद्यार्थीहरूलाई आफ्नो कला संस्कृतिको संरक्षण गर्नुपर्ने कुराको व्यवहारिक रुपमै सिकाइ हुने बताए। उनले  हामीले प्राप्त गरेको शिक्षाले हाम्रा सांस्कृतिक पक्षलाई पिछडिएका भन्ने मान्यता अगाडि बढाएकोमा अहिले यो गलत बुझाइमा परिवर्तन भएको बताए। संस्कृतिसँग शिक्षा जोडिनु पर्छ भन्ने मान्यतालाई चैतन्य पाठशालाले अगाडि बढाउन खोजेको प्राध्यापक पन्तले बताए।

प्रमुख अतिथि सभामुख भण्डारीले हाम्रो कला संस्कृतिलाई हामीले नै जगेर्ना गर्नुपर्ने बताए। कला, संस्कृतिको संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग रहने सभामुख भण्डारीले बताएका छन्। कार्यक्रममा डेउडा गायक दाहाल र डिक्रादेवीले आफ्नो गायन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले विभिन्न सन्देश मूलक नाटक देखाएर अभिभावकहरूलाई मनोरञ्जनका साथै जनचेतना जगाउने सन्देश दिएका थिए।

कमेन्ट लोड गर्नुस