रायो साग खेतीबाट आम्दानी गर्दै लिला,दैनिक एक क्विन्टलसम्म बिक्री
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की लिला चौधरीका लागि हरियो तरकारी खेती आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ।
केही कठ्ठा जमिन भाडामा लिएर तीन वर्षअघि सुरु गरेको तरकारी खेतीबाट राम्रो सम्भावना देखेपछि अहिले उनको परिवार नै व्यावसायिक तरकारी उत्पादनमा जुटेको छ। उत्पादित तरकारीले बजार पाउन थालेपछि चौधरी परिवारको उत्साहसमेत बढेको छ।
लिलाले आफ्नो खेतमा मुख्य रूपमा रायो साग खेती गर्दै आएकी छन्। बिहानदेखि साँझसम्म परिवारका सदस्यहरू तरकारीको स्याहारसुसार, टिपाइ र बिक्रीवितरणमा व्यस्त हुने गरेका छन्। तीन वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएकी उनले गत साउनदेखि रायो साग उत्पादन गरी बजारमा बिक्री गर्न थालेकी हुन्।
उनले उत्पादन गरेको रायो साग आफ्नै वडामा मात्रै सीमित छैन। श्रीमानको सहयोगमा धनगढीको सहिदगेटस्थित हाटबजारसम्म पुर्याएर बिक्री गर्ने गरेकी छन्। बजारमा हरियो तरकारीको माग राम्रो भएकाले उत्पादित साग बिक्री गर्न समस्या नभएको उनी बताउँछिन्। अहिले दैनिक ६० किलोग्रामदेखि एक क्विन्टलसम्म रायो साग बिक्री भइरहेको लिलाको भनाइ छ।
लिलाका अनुसार खेतमै आउने ग्राहकलाई प्रतिकिलोग्राम एक सय रुपैयाँमा रायो साग बिक्री गर्ने गरिएको छ। त्यस्तै, धनगढीको हाटबजारमा भने प्रतिकिलोग्राम ८० रुपैयाँमा बिक्री हुन्छ। बजारमा माग बढेसँगै तरकारी खेतीबाट राम्रो आम्दानी र बचत गर्न सकिएको उनी बताउँछिन्।
असोज महिना लिलाका लागि थप फलदायी बनेको छ। हिन्दु धर्मावलम्बीले सो महिनामा गर्ने श्राद्धका कारण हरियो तरकारीको माग बढ्दा उत्पादित रायो साग बिक्री गर्न सहज भएको उनको अनुभव छ। पहाडी जिल्लामा वर्षाका कारण कतिपय ठाउँमा तरकारी उत्पादन प्रभावित हुँदा पनि आफूले उत्पादन गरेको सागले बजार पाइरहेको उनी बताउँछिन्।
तरकारी खेतीबाट राम्रो आम्दानीको सम्भावना देखेपछि लिलाको परिवार यसै व्यवसायलाई निरन्तरता दिन उत्साहित छ। तर, किसानलाई खेती विस्तार गर्न स्थानीय स्तरबाट पर्याप्त सहयोग आवश्यक रहेको उनको बुझाइ छ। किसानलाई गुणस्तरीय बीउ, मल, आवश्यक कृषि औजार तथा खेतीसम्बन्धी तालिम उपलब्ध गराउन सके उत्पादन बढाउन र खेतीलाई थप व्यवस्थित बनाउन सहज हुने उनी बताउँछिन्।
लिलाको अनुभवले मेहनत र बजारको मागअनुसार खेती गर्न सके सानो क्षेत्रफलबाट पनि आम्दानीको आधार बनाउन सकिने देखाउँछ। तरकारी खेतीमा किसानको आकर्षण बढ्दै गए पनि उत्पादित वस्तु उचित मूल्यमा बिक्री गर्ने र उपभोक्तासम्म सहज रूपमा पुर्याउने व्यवस्था भने महत्त्वपूर्ण छ।
धनगढीमा तरकारीको मूल्य बढिरहेको अवस्थामा किसानले आफ्नै उत्पादन प्रत्यक्ष रूपमा बजारमा बिक्री गर्न सके त्यसको लाभ किसान र उपभोक्ता दुवैले पाउन सक्छन्। बीचमा हुने अनावश्यक तह र लागत घटाउन सके किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तोमा तरकारी उपभोग गर्न सक्ने सम्भावना रहन्छ।