कैलाली कांग्रेसमा कुर्सी विवाद : कार्यवाहक सभापति जिल्ला सभापतिकै कुर्सीमा बसेपछि...
धनगढीः नेपाली कांग्रेस कैलालीको नेतृत्व विवाद फेरि सतहमा आएको छ। कार्यवाहक जिल्ला सभापति भीम बडूवाल पार्टी कार्यालय पुगेर जिल्ला सभापतिकै कुर्सीमा बसेपछि सभापति नारायणदत्त भट्ट र बडूवाल पक्षबीच विवाद चर्किएको हो। गत असोजमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जिल्ला उपसभापति बडूवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको पत्र जारी गरेका थिए। जिल्लातहका अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित उनलाई कार्यवाहक तोकिएको पत्रमा उल्लेख थियो। वडा, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन हुँदै पार्टीको महाधिवेशनसमेत सम्पन्न भइसक्दा जिल्ला र प्रदेश अधिवेशन भने अझै हुन सकेका छैनन्।
१४औँ महाधिवेशनबाट नारायणदत्त भट्ट कांग्रेस कैलालीको जिल्ला सभापतिमा निर्वाचित भएका थिए। तर, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई स्वीकार नगरेर भट्ट शेरबहादुर देउवा पक्षमै रहे। १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउनसमेत भट्ट तयार नभएपछि उपसभापति बडूवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। यद्यपि, भट्टलाई सभापति पदबाट औपचारिक रूपमा हटाइएको छैन।
मंगलबार कार्यवाहक सभापति बडूवाल धनगढीस्थित पार्टी कार्यालय पुगे। उनले छलफलका लागि भन्दै जिल्ला सचिव, क्षेत्रीय सभापति, नगर सभापति तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरूलाई समेत बोलाएका थिए। सोही क्रममा उनी जिल्ला सभापतिको कुर्सीमा बसेपछि कांग्रेस कैलालीभित्रको नेतृत्व विवाद थप चर्किएको हो।
जिल्ला सभापति भट्टले आफ्नो नामप्लेट हटाएर कार्यवाहक सभापति बडूवाल सभापतिको कुर्सीमा बसेको भन्दै आपत्ति जनाएका छन्। उनले बडूवालसहितको समूहलाई अराजकको संज्ञा दिँदै आफूलाई अहिलेसम्म कुनै आधिकारिक निर्णयबाट सभापति पदबाट नहटाइएको बताएका छन्।
भट्टका अनुसार कार्यवाहक सभापतिले सभापतिको कुर्सीमा बस्नु अनैतिक र पार्टीको विधि तथा विधानविपरीत हो। आफूले गगन थापालाई पटकपटक सभापतिबाट हटाउन आग्रह गरे पनि त्यसबारे औपचारिक निर्णय नभएको उनको भनाइ छ। उनले घटनाको सामाजिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।
महामन्त्री प्रदीप पौडेलले एउटै मितिमा फरकफरक व्यहोराका तीनवटा पत्र जारी गरेको भन्दै भट्टले प्रश्न उठाएका छन्। एउटा पत्रमा जिल्लातहका अधिवेशन सम्पन्न गर्न बडूवाललाई कार्यवाहक तोकिएको उल्लेख भए पनि अन्य दुई पत्रमा कार्यवाहक तोक्नुको कारण खुलाइएको छैन।
यता कार्यवाहक सभापति बडूवालले भने भट्टले नैतिकताका आधारमा यसअघि नै राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। सभापतिको कुर्सी कुनै व्यक्तिको निजी सम्पत्ति नभई पार्टीको भएको उनको तर्क छ। ‘कुर्सी कुनै व्यक्ति विशेषको नभई नेपाली कांग्रेसको हुन्छ,’ बडूवालले भने, ‘विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई अवज्ञा गर्दै आएको मान्छेले कसरी सभापति बन्न पाउँछ?’ कैलालीमा देउवा पक्षले वडा तहबाटै छुट्टै महाधिवेशनका प्रक्रिया अगाडि बढाइसकेको छ।