जो आफूलाई सर्वज्ञ ठान्छ
जो आफूलाई सर्वज्ञ ठान्छ,
उसैमा मानवता हुँदैन, सभ्यता हुँदैन, शिष्टता हुँदैन।
हातमा घमण्डको लौरो समातेर दिमागमा सैतानको राज गराइरहेको हुन्छ।
बेसहारा, गरिब र विधवालाई तथानाम गाली गर्न जानेको छ उसले,
अन्धविश्वास, अराजकता र विकृतिको जालोमा आफ्नो साम्राज्य चलाइरहेको छ।
कतिखेर नियाल्छ बार्दलीबाट र भन्छ
"मेरो रापको लप्काले कतिलाई जलायो!"
मनमनै भन्छ "यो मेरो राज्य हो, म बाघ हुँ,
मलाई कसैले छुन सक्दैन, प्रश्न गर्न सक्दैन,
बोल्न सक्दैन, मेरो बारेमा केही भन्न सक्दैन।"
तर, महाराज...
तिमीले बनाएको राज्य एकदिन ढल्नेछ,
तिम्रो गालामा चाउरी पर्नेछ, तिमी रोगी हुनेछौ,
डाक्टरले तिमीलाई निरन्तर औषधि सेवन गर्ने सिफारिस गर्नेछ।
तिमीलाई तिम्रो घमण्ड र अहंकार टेकाउन होइन,
तिम्रो जीउ ठड्याउन सहारा चाहिनेछ।
तिम्रो साम्राज्यको दिनगन्ती सुरु हुनेछ,
त्यो दिन तिमीलाई साथ दिनेको भन्दा लात मार्नेहरूको जमात ठूलो हुनेछ।
तिमी विश्राम गर्न पाउनेछैनौ, विश्राम गर्न सक्नेछैनौ,
तिम्रा हातहरू काँप्नेछन्, ओठ सुक्नेछन्, बोली बन्द हुनेछ,
निधारमा चिटचिट पसिना आउनेछ,
अनि... अनि तिमी निक्कै दुर्बल देखिनेछौ।
तिम्रो सत्ताको मातको आयु सकिनेछ,
ती दरबारहरूमा सजिएका तिम्रा तस्बिरहरू फ्याँकिनेछन्,
र भनिनेछ— "सत्ताको उन्मादमा मानवता बिर्सेको एक अपराधी गयो।"
तिमी एकदिन गल्नेछौ, ढल्नेछौ, समाप्त हुनेछौ!
तिम्रो अस्तित्व मात्रै होइन, तिम्रो अहम् पनि सकिनेछ,
अनि तिमी निक्कै पछुताउनेछौ।
पापको पिण्ड नदीमा बगाउन तिमी बगरसम्म पनि जान सक्नेछैनौ।
त्यसैले...
मान्छेलाई चिन, यो देशलाई चिन,
समाजलाई चिन।
मानिसहरूको बोली बन्द नगराऊ,
उनीहरूको आँसु पनि हेर, पढ र मल्हम लगाऊ,
उनीहरू पनि नेपालकै हुन्,
नेपालीलाई नेपाली नै भन, अरू भन्न मिल्दैन, पाइँदैन!
धोती होस् कि टोपी, त्यो उनीहरूको चाहना र आवश्यकता होला,
तर...
जात, धर्म, वर्ण, परम्परा, उत्पत्ति, भाषा, भूगोल, सम्प्रदाय र लिङ्गका आधारमा
उनीहरूको स्थान छुट्याउन, घटाउन र अपमान गर्न मिल्दैन,
किनकि यो देश उनीहरूको पनि हो!
जो पीडामा छन्, जो गरिबीमा बाँचेका छन्, जो अभाव सहेर बाँचेका छन्,
यो देश निर्माणमा उनीहरूको पनि योगदान र बलिदान छ, रगत र पसिना छ।
यो देश सबै नेपालीको हो,
यो देश तिम्रो मात्रै होइन,
यो देश उनीहरूको पनि हो!
-दिनेश नागारी,बैतडी