सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारको ग्राण्ड फिना भोलि
धनगढीः सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारको ग्राण्ड फिना भोलि हुने भएको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका गायन र नृत्य प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले आयोजना गरिएको ‘सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’को ग्राण्ड फिनाले भोलि २३ गते शुक्रबार साँझ ५ बजे धनगढीस्थित होटल पौवामा हुने भएको छ। ग्राण्ड फिनालेको उद्घाटन सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। ग्राण्ड फिनालेमा गायनतर्फ १२ जना र नृत्यतर्फ ८ जना गरी जम्मा २० जना फाइनल प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका प्रतिभाबीच अन्तिम प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने प्रतियोगीले २ लाख नगदसहित ४ लाख बराबरको अडियो तथा म्युजिक भिडियो निर्माण, दुई वर्षको सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यस्तै, द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ हुने प्रतियोगीलाई पनि नगद पुरस्कारसँगै अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्रदान गरिनेछ। गायनतर्फका १२ र नृत्यतर्फका ८ गरी २० जना फाइनलिस्टले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुति दिनेछन्। फाइनलबाट उत्कृष्ट पाँच प्रतिभालाई क्रमशः प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ घोषणा गरिनेछ।
असोज २३ गते शुक्रबार साँझ ५ बजे होटल पौवा, धनगढीमा हुने ग्राण्ड फिनालेमा २० जना फाइनलिस्टको अन्तिम प्रतिस्पर्धा, विजेता घोषणा, पुरस्कार वितरण तथा सांगीतिक र नृत्य प्रस्तुति रहनेछ। सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका नवप्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय कला, संगीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।