सुदूरपश्चिम सरकारले आज पनि गर्न सकेन बजेट सार्वजनिक, प्रदेशसभा बैठक भोलि
धनगढी: सुदूरपश्चिम प्रदेश सरकार आज पनि बजेट सार्वजनिक गर्न असफल भएको छ। बजेट प्रस्तुतको कार्यसूची आख्दै आज आज बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्ने गरि सारिएको थियो। तर, बजेट सार्वजनिकका लागि आवश्यक तयारी नपुगेपछि बैठक भोलि बिहान ९ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिइन्।
बजेटका विषयमा मन्त्रीहरुबीच नै विवाद भएपछि बजेट ल्याउने तयारी अनिश्चित बन्दै गएको हो। अर्थले लगभग तयार गरिसकेको बजेटमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टीका मन्त्रीहरू नै सन्तुष्ट छैनन्। उनीहरूले बजेट बाडफाडमा असन्तुष्टि जनाएका छन् ।
बजेट ल्याउन नसक्दा प्रदेश सरकार तीन महिनादेखि बजेटविहीन छ। यसअघि सर्वोच्च अदालतको कारण देखाउ आदेशले बजेट प्रक्रिया रोकिएको बताइएको थियो।
तर, शुक्रबार बजेट विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो। अदालतको यो निर्णयसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको थियो।
यस्तै, सत्तारुढ दलको प्रदेशसभा सदस्यहरुको बैठकमा भोलि बिहान बजेट सार्वजनिक गर्ने सहमति भएको छ।