आफ्नो समस्या छोरामा पनि देखिएपछि निसर्ग पुगिन् गीता, दुवैको निःशुल्क उपचार
धनगढीः बझाङको केदारस्युँ गाउँपालिका–२ की ४२ वर्षीया गीता विष्टले जीवनको लामो समय जन्मजात ओठ फाटेको समस्यासँग बिताइन्। आफ्नो शारीरिक अवस्थाका कारण अरूका अगाडि खुल्न र खुलेर बोल्नसमेत अप्ठ्यारो मान्ने उनी छोराको उपचार गराउन धनगढी पुगेपछि आफैँले पनि निःशुल्क उपचार पाएकी छन्।
पाँच छोरीकी आमा गीताले ११ महिनाअघि छैटौँ सन्तानका रूपमा छोरालाई जन्म दिइन्। छोरा जन्मिएको खुसीसँगै उनको मनमा चिन्ता थपियो। नवजात शिशुमा पनि आफूलाई जस्तै जन्मजात ओठ फाटेको समस्या देखिएपछि छोराले समेत आफूले जस्तै कठिनाइ भोग्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थाल्यो।
गीताले बझाङकै देउरा स्वास्थ्य चौकीमा छोरालाई जन्म दिएकी थिइन्। त्यहाँका स्वास्थ्यकर्मीले उपचार सम्भव हुने भन्दै डडेल्धुरा लैजान सुझाव दिए। तर, डडेल्धुरा पुगेर बुझ्दा उपचार सम्भव नहुने जानकारी पाएपछि परिवार निराश भयो। छोराको उपचार कहाँ गराउने भन्ने अन्योल भइरहेका बेला गाउँकै स्वास्थ्यकर्मी अमर विष्टले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार हुने जानकारी दिए।
त्यसपछि गीताका आफन्तले उनलाई ११ महिने छोरा अनिस विष्टसहित धनगढी ल्याए। अस्पताल पुगेपछि छोराको मात्रै नभई गीताको पनि ओठ फाटेको समस्याको उपचार सम्भव रहेको जानकारी पाए। ४२ वर्षदेखि उपचारबारे जानकारी नपाएकी गीताका लागि यो अप्रत्याशित खुसी थियो। अन्ततः निसर्ग अस्पतालमा आमा र छोरा दुवैको निःशुल्क उपचार भयो।
‘मैले त आफ्नो समस्यासँगै बाँच्न सिकिसकेकी थिएँ। अरूका अगाडि जान, बोल्न पनि लाज लाग्थ्यो। अब त त्यो अप्ठ्यारो हुँदैन होला। म त छोराको मात्रै उपचार होस् भन्ने सोचेर आएकी थिएँ। आफ्नो पनि उपचार हुने भयो,’ गीताले भनिन्, ‘छोराको उपचार होला भन्ने आशा थियो, तर मेरो पनि उपचार हुन्छ भन्ने सोचेकी थिइनँ। आज दुवैको उपचार भयो। घर फर्किंदै छु। उपचारमा एक रुपैयाँ पनि खर्च लागेन।’
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले गैरनाफामूलक संस्था स्माइल ट्रेनको सहकार्यमा जन्मजात ओठ तथा तालु फाटेका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ। अस्पतालका अनुसार यसअन्तर्गत शल्यक्रिया, अस्पताल भर्ना, औषधि तथा आवश्यक परीक्षणको खर्च बिरामीले तिर्नुपर्दैन। यातायात खर्चका साथै बिरामीका कुरुवाका लागि खान र बस्नेसमेत व्यवस्था गरिएको छ। यस सेवाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकालाई उपचारको पहुँचमा ल्याउने अस्पतालले जनाएको छ।