एसपीए धनगढीका विद्यार्थीले बनाए हस्तनिर्मित राखी

धनगढीः एसपीए कलेजमा अध्ययनरत विद्यार्थीहरुले हस्तनिर्मित रक्षा धागो (राखी) बनाएका छन्। एसपीए स्मल स्केल इन्टरप्रेनियर्स र थियटर एण्ड आर्टस क्लबका विद्यार्थीहरुले हस्तनिर्मित रक्षा धागो बनाएका हुन्। विद्याथीले बनाएका रक्षा धागोमा धनगढी बासीको आकर्षण बढेको कलेजले जनाएको छ।
भारतलगायत देशबाट आयातित रक्षा धागोहरु कच्चा, कम गुणस्तरका र बढी कस्मेटिकयुक्त हुने भएकाले ती भन्दा हस्तनिर्मित रक्षा धागोमा स्थानीयको आकर्षण देखिएको स्मल स्केल इन्टरप्रेनियर्सका अध्यक्ष प्रिन्स पन्तले बताए। विद्यार्थीहरुले एसपीए कलेज परिसर तथा धनगढी चौराहामा स्टल राखेका छन्। स्टलमा विभिन्न डिजायनका रक्षा धागोहरु उपलब्ध छन्।
कलेजले विद्यार्थीहरुमा उद्यमशीलता विकास गर्न उक्त क्लबको गठन गरिएको हो। उक्त क्लबबाट विद्यार्थीहरुले स–साना व्यवसायउन्मुख क्रियाकलापहरु गर्दै आएका छन्। आफ्नो उद्यमशील विद्यार्थीहरुले कुनै व्यापार–व्यवसाय गर्न चाहेमा कलेजले बिना धितो १० लाखसम्मको लगानी समेत गरिदिने व्यवस्था गरेको छ। थियटर एण्ड आर्टस क्लबकी अध्यक्ष आयुष्मा जोशीले स्थानीयबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन्।
भोलि (बिहीबार) देशभर रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदैछ। उक्त दिन दिदी वहिनीहरुले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ। यो चाड दाजुभाइ–दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।
यो केबल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ।

