मतदान गर्न बेलुकी ५ बजेसम्म नकुर्नुस् : निर्वाचन आयाेग
काठमाण्डाैः निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका मतदाताहरूलाई निर्धारित समय (बेलुकी ५ बजे) नकुर्न मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ ।
देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै बसिरहेका मतदाताहरूलाई नकुर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूले चुनावमा भाग नलिई घरमै बसेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताए।
आयोगले मतदान केन्द्रमा पुग्दै गरेकाहरूलाई आफ्नो मत बदर नहुने गरी मतदान गर्न सुझाव दिएको छ । मतदान गर्नु अधिकार मात्र नभई राष्ट्रप्रतिको महत्त्वपूर्ण कर्तव्य पनि भएको आयोगले स्मरण गराएको छ ।
प्रवक्ता भट्टराईले भने, ‘सबै मतदाताहरू कार्यव्यस्तताले गर्दा कतिपय मतदान केन्द्रमा जाँदै हुनुहुन्छ होला, कतिपय मतदान गरेर फर्किसक्नुभयो होला । जो कार्यव्यस्तताले गर्दा पुग्न बाँकी हुनुहुन्छ, उहाँहरूलाई ढिलो नगरिकन मतदान केन्द्रमा गइदिनुस् भन्न चाहन्छौँ ।’
मतदान गर्न बेलुकी ५ बजेसम्मको समय भए पनि अन्तिम समयसम्म कुर्दा भीडभाड हुने र प्राविधिक समस्या आउन सक्ने भएकाले समय छँदै आफ्नो काम सम्पन्न गर्न आयाेगले मतदाताहरूलाई आग्रह गरेकाे हाे ।