परिवर्तनको आशामा मत हाल्दै जनता
धनगढीः प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिइने निर्वाचनमा नागरिकहरूले परिवर्तनको आशा बोकेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
कतिपय मतदाताले विगतमा दिएका आश्वासन पूरा नभए पनि यसपटक सक्षम नेतृत्व चयन गरेर विकास र सुशासनको अपेक्षा व्यक्त गरेका छन्। मतदान केन्द्रमा भेटिएका मतदाताहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडकलगायतका आधारभूत आवश्यकतामा सुधार होस् भन्ने अपेक्षासहित मतदान गरेको बताएका छन्।
धनगढी–८ स्थित धनगढी नमुना मावि मतदान केन्द्रमा पहिलो पटक मत हाल्न आएकी सम्झना राना भन्छिन्, “आउँदो पुस्तालाई सहज होस् र विकासको अनुभव गर्न पाइयोस् भनेर मत हाल्न आएँ।”
विशेष गरी युवा मतदाताहरूले पुराना समस्याको समाधान र नयाँ सोचसहितको नेतृत्वको खोजीमा आफूहरूले मतदान गरेको बताएका छन्। उनीहरूका अनुसार देशको विकास, सुशासन र स्थायित्वका लागि निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
धनगढी–१५ कनरीकी सुनिता थापाले मतदान गर्नकै लागि काठमाडौंबाट धनगढी आएको बताउँदै यो निर्वाचनपछि बन्ने सरकारबाट सकारात्मक परिवर्तन हुनेमा आफू आशावादी रहेको बताइन्।
यस्तै, अपाङ्गता भएका मतदाताहरू पनि सहायकको सहयोगमा मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। उनीहरूले समान अधिकारसहित लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै परिवर्तन र समावेशी विकासको अपेक्षा गरेका छन्।
धनगढी–१४ ‘डी’ गाउँका हर्कबहादुर घिमिरे भन्छन्, “अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र निःशुल्क उपचारको व्यवस्था हुनुपर्छ। हामीले हिँड्ने बाटो र संरचनाहरू समेत सहज छैनन्। भौतिक संरचनाहरू अपाङ्गतामैत्री बनाउनुपर्छ। अब केही परिवर्तन हुन्छ कि भन्ने आशा छ।”
त्यसैगरी कैलारी गाउँपालिका–१ हसुलियास्थित छिमानन्द आधारभूत विद्यालयमा मतदान गर्न आएका बतासु चौधरीले नयाँ प्रतिनिधिहरूले विशेषगरी कृषि क्षेत्रको प्रवर्द्धन, व्यवसायीकरण र बेरोजगारी समस्या समाधानमा जोड दिनुपर्ने बताए।
धनगढी–१८ फूलबारी ‘ए’ गाउँस्थित चन्द्रोदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मत हाल्न आएका पवन चापागाईंले अब बन्ने सरकारले नयाँ पुस्ताको चाहना र भावना सम्बोधन गर्नुपर्ने बताए। “यसपटक केही परिवर्तन भएको देख्न पाइयोस्, अब नेपाल राम्रो बनोस्,” उनले भने। उनले मत हाल्नकै लागि विदेशबाट घर आएको पनि बताए।
निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थासहित शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ। मतदाताहरू भने परिवर्तनको आशा र सुरक्षित भविष्यको भरोसासहित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।