सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द विश्वविद्यालय सञ्चालनको अन्योल अन्त्य गर्न सरकारको ध्यानाकर्षण

२०८३ मंसिर ११, ०४:४४ खबर संवाददाता

धनगढीः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई विवादमा धकेल्ने कार्य बन्द गरी तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सञ्चालन प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

सुदूरपश्चिमवासीको दशकौँदेखिको संघर्ष, त्याग र बलिदानबाट स्थापित गेटा विश्वविद्यालय सञ्चालन प्रक्रियामा विभिन्न बहानामा विवाद सिर्जना गरी अन्योल बढाइएको भन्दै संघर्ष समितिले प्रधानमन्त्री तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो भने मुख्यमन्त्री खगराज भट्टलाई प्रत्यक्ष रूपमा बुझाइएको समितिले जनाएको छ।

समितिले विश्वविद्यालय ऐन संशोधन, एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको सिट निर्धारण, पदाधिकारी नियुक्ति तथा बर्खास्तीजस्ता विषयमा पटकपटक विवाद सिर्जना गरी विश्वविद्यालय सञ्चालन प्रक्रियालाई अन्योलमा पार्ने गतिविधि बन्द गर्न माग गरेको छ। साथै, विश्वविद्यालयमा सुदूरपश्चिम तथा स्थानीय पालिकाका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट, शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति र रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत अघि सारेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पक्षमा आफूहरूको समर्थन रहे पनि सुधारका नाममा सुदूरपश्चिमको ऐतिहासिक आवश्यकता र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिलाई अन्योलमा पार्ने गतिविधि स्वीकार्य नहुने समितिको भनाइ छ।

प्रा. डा. गोविन्द केसीले सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएको विषयप्रति पनि समितिले आपत्ति जनाएको छ। सहमति कार्यान्वयन गर्नु सरकारको दायित्व भए पनि त्यसका नाममा गेटा विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रियालाई अनिश्चित बनाउने दबाब स्वीकार्य नहुने समितिले स्पष्ट पारेको छ।

समितिले गेटा विश्वविद्यालयको शिक्षण अस्पताल अत्याधुनिक उपकरणसहित ६०० शैयाको पूर्ण क्षमतामा सञ्चालन गर्न तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको पठनपाठन सुरु गर्न आवश्यक पहल र सुनिश्चितता गर्न मुख्यमन्त्रीसँग आग्रह गरेको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री खगराज भट्टले विश्वविद्यालय सञ्चालनमा रोक लगाउनु सरकारका लागि आफ्नै खुट्टामा बञ्चरो हान्नु सरह हुने टिप्पणी गरेका छन्। उनले सुदूरपश्चिमको भावना र यहाँका जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिसँग सरकारले खेलबाड नगर्ने अपेक्षा व्यक्त गरे। मुख्यमन्त्री भट्टले विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक पहलका लागि संघीय सरकारसँग समेत छलफल गर्ने बताएका छन्।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले विश्वविद्यालय सञ्चालन रोक्ने, विद्यार्थीको भविष्य अन्योलमा पार्ने र सुदूरपश्चिमलाई शैक्षिक अवसरबाट वञ्चित गर्ने अवस्था स्वीकार्य नहुने बताए। विश्वविद्यालय सुदूरपश्चिमका जनताको दया वा कृपाबाट प्राप्त उपलब्धि नभई लामो संघर्ष र अधिकारको परिणाम भएको उल्लेख गर्दै उनले सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गरिए कडा संघर्षसहित सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

कमेन्ट लोड गर्नुस