सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रभावकारी बन्दै ट्राफिक प्रहरीको सचेतना कार्यक्रम

। फोटो स्रोत ।
२०७६ वैशाख ५, ०५:३०

ट्राफिक प्रहरीले घुम्ती सचेतना कार्यक्रम ल्याएको छ। काठमाडौंमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियमबारे जानकारी गराउन घुम्ती सचेतना कार्यक्रम ल्याएको हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चैत २१ गते उद्घाटन गरेका ‘सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण’ गर्ने ३ महिने विशेष अभियान सञ्चालन गरिएको हो। गत वर्ष साउन महिनादेखि चैत मसान्तसम्म सवारी दुर्घटनामा १९२ जनाले ज्यान गुमाइसकेका छन् जसमध्ये ९० जना मोटरसाइकल र स्कुटर चालक रहेको ट्राफिक प्रहरी प्रमुख बसन्त कुमार पन्तले बताए।

यस्तै, सवारी साधनबाट हुने वातावरण प्रदूषण न्यूनीकरण गर्न ५२५ सवारी साधनलाई कारबाही गरिएको छ। सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्न हालसम्म २ हजार ६ सय ७० सवारी चालकहरूलाई घुम्ती सचेतना प्रदान गरिएको महाशाखा प्रमुखले बताए।

विशेष गरेर दुई पाग्रे सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गरी लापरबाहीपूर्ण तरिकाले सवारी चलाउने हुँदा दुई पाग्रे सवारी साधनलाई लक्षित गरेर सचेतना कार्यक्रम सञ्चालनमा आएको हो। एक पटकमा १० वटा दुई पाङ्ग्रे सवारी साधन रोकी सचेतना दिने गरिन्छ।

दैनिक एक घण्टा मोटरसाइकल,स्कुटर चालकहरूलाई पाँच मिनेट सडकमा रोकी सडक सुरक्षा र ट्राफिक नियमको बारेमा सचेतना प्रदान गर्दै आएको ट्राफिक महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रहरी निरीक्षक केशव राज भट्टले बताए।

प्रत्येक चालकलाई ५ मिनेटको घुम्ती सचेतना अन्तरगत दुईपांग्रे सवारी साधनहरूले हेलमेट लगाउने, लेन अनुशासन, जथाभावी ओभर टेक गर्ने, ओभर स्पीडमा चलाउने, ठूलो आवाजका सवारी साधन चलाउने र जिक(ज्याक गरी चलाउने कुरामा केन्द्रित रहेर सचेतना प्रदान गरिएको प्रहरी निरीक्षक भट्टले बताए।

ट्राफिक अनुगमनमा आएका महानगरीय ट्राफिक प्रहरी दरबार मार्गका प्रहरी निरीक्षक दया कृष्ण भट्टले यो सचेतना कार्यक्रम राजधानीका विभिन्न स्थानहरूमा नियमित रूपमा सञ्चालन भइरेको जानकारी दिए। साभार - सेतोपाटी
 

कमेन्ट लोड गर्नुस