सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कर्मचारीको वृत्तिविकासमा सरकार सकारात्मक छ’

२०८२ जेठ ३, ०७:२६ खबर संवाददाता

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गराउन सरकार प्रयासरत रहेको बताएका छन।

नेपाल नगरपालिका सङ्घले आज धनगढीमा आयोजना गरेको ‘नगर सुशासन तथा वित्तीय अनुशासन’सम्बन्धी अन्तरक्रियामा उनले उक्त विधेयकमाथि सबै प्रक्रिया पूरा गरी प्रदेशसभाबाट पारित गराउने प्रक्रिया अघि बढेको जानकारी दिए।

मुख्यमन्त्रीले कर्मचारीका प्रतिनिधिसँगको छलफलबाट उनीहरूको वृत्तिविकास सकारात्मक रूपले हुनेगरी सरकारले इमान्दारिताका साथ काम गरिरहेको बताए। उनले भने, ‘तीनै तहका सरकारबिच सहकार्य, सहअस्तित्व र समन्वयको वातावरण निर्माण गर्नु जरुरी छ।’

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा विचाराधीन छ। ऐन यथाशीघ्र जारी गर्न माग गर्दै स्थानीय तहका कर्मचारीले केही दिनदेखि गरिरहेको प्रदर्शनका कारण स्थानीय तहको सेवा प्रभावित बन्दै गएको छ।

यसैबीच, सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान, २०७२ बमोजिम यही जेठ ११ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। मुख्यमन्त्री शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ऐन जारी गरियोस् भन्ने विषयमा कर्मचारीबाट व्यक्त धारणाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

मुख्यमन्त्रीले विज्ञप्तिमा विधेयक प्रदेशसभामा दर्ता भई पारित हुने प्रक्रियामा रहेको र स्थानीय तहका कर्मचारीको वृत्तिविकासका लागि सरकार सकारात्मक रहेकाले कर्मचारीले गरिरहेको प्रदर्शनका सबै कार्यक्रम फिर्ता लिई आ–आफ्नो पदीय जिम्मेवारी सम्हाल्न अनुरोध गरेका छन्।

 

कमेन्ट लोड गर्नुस