सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१६ बैतडी छनोटः एनसिसीले उपाधि जित्यो

२०८२ जेठ ३, ०७:३९

बैतडी : एनसिसी मेन्स यू–१६ इस्ट जोन कपअन्तर्गत जिल्ला छनोटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) ले हात पारेको छ।

बैतडीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो।

एनसिसीले दिएको ९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलव पाँच ओभरमा ६३ रनमा समेटियो। भ्यालीका अमन विष्टले २४ रनको योगदान दिए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

एनसिसीका रोशन बोहरा र शिरिष बोहराले तीन÷तीन र नविनसिंह भाटले दुई विकेट लिए। यसअघि दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा ९४ रन बनाएको थियो। एनसिसीका कृष्ण बोहराले अविजित ४७ रन जोड्दा, विक्रम बोहराले १९ रन हिर्काए।

बलिङतर्फ भ्यालीका तेजकिरण विष्टले तीन विकेट झारे। एनसिसीका रोशन बोहरा प्लेयर अफ द फाइनल चुनिएका आयोजकले जनाएको छ। विजेता र उपविजेता टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरेका छन्।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता थियो। छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ। एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एनसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि यही जेठमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दैछ।

 

कमेन्ट लोड गर्नुस