सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशौँ राष्ट्रिय खेलकुदका लागि बाजुरामा आजदेखि खेलाडी छनोट सुरु

२०८३ कार्तिक १४, ०३:३७ रासस

बाजुरा : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा आजदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ ।

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्लामा विभिन्न खेलका प्रतिस्पर्धा सुरु गरिएको हो ।
जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहका अनुसार प्रतियोगितामा सहभागी हुन जिल्लाबाट १८ विधाका खेलमा ३३६ जना खेलाडीले फाराम भरेका छन् । तीमध्ये जिल्ला छनोट प्रतियोगिताबाट २२६ जना खेलाडी छनोट गरिने उनले जानकारी दिए ।

सदरमुकाम मार्तडीमा सुरु भएको छनोट प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन् । अध्यक्ष सिंहले जिल्लामा १८ वटै खेलका प्रशिक्षक रहेको जानकारी दिँदै राष्ट्रिय प्रतियोगितामा बाजुराबाट ३४ जना प्रशिक्षकसमेत सहभागी हुने बताए ।

जिल्लामा खेलाडी छनोटका लागि आवश्यक तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले जिल्लाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । यसले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस