नेपाल प्रिमियर लिगअन्तर्गत आजका खेल होलान् ?
धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार दुई खेल हुने कार्यतालिका छ। पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले शनिबार हुने दुबै खेल रद्द हुने सम्भावना बढेको छ। मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।
वर्षा रोकिए पनि मैदान खेलका लागि तयार पार्न पर्याप्त समय नहुने देखिन्छ। लामो समयको वर्षाका कारण मैदानको बाहिरी भागमा पानी जमेको र जमिन भिजेर हिलाम्मे भएको हुन सक्छ। यस्तो अवस्थामा पिचलाई कभरले जोगाइएको भए पनि आउटफिल्ड खेल्नयोग्य बनाउन थप समय लाग्नेछ।
एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले वर्षाका कारण खेल हुन नसके दुवै टोलीले अंक बाँड्नुपर्ने अवस्था आउन सक्छ।