सुदूर नेपाललाई विश्वसँग जोड्दै

आहा! हाम्रो त्यो होली

२०७९ फाल्गुन २१, ०५:५० नारायण अवस्थी

धनगढीः बहुदलको जन्म भयो अब पञ्चायतको नष्ट भयो..., लौ भन है भीमसेन तिम्रो आज कथा..., भयो भीष्म पितामह जीको पतन..., सुदामको देखि राम हाँसे भगवान हाँसे... र कति राम्रो होली फागुनमा, कति राम्रो होली आँगनमा... होली भन्ने बित्तिकै हाम्रा मुखमा अनायासै यी होलीका गीतहरूको झन्कार फुट्थ्यो।

कुरो २०४८ पछिको गर्दैछु। मलाई ठ्याक्कै १० वर्ष पूरा भएको वर्षको। २०४७ को आन्दोलनका कथा काठमाडौं पढ्ने मेरा भिनाजुबाट सुनेको आज नै हो जस्तो लाग्छ। रेडियो नेपालबाट आउने हरेक दिनको समाचार कण्ठस्थै हुन्थ्यो। गाउँमा एक जना भतिज नाता पर्ने दुर्गादत्तसँग मात्रै रेडियो थियो। गाउँका सबैले त्यहीँ रेडियोमा साँझ ७ बजेको समाचार सुनेर देश र दुनियाँको कुरा थाहा पाउने समय थियो त्यो।

२०४८ सालको आम निर्वाचन र २०४९ को स्थानीय तहको निर्वाचनको रेडियोबाट आउने सबै समाचार मलाई थाहा हुन्थ्यो। किनभने एक चोटी सुनेको कुरा मलाई याद भइहाल्थ्यो। राजनीतिक घटना विशेष, पार्टी र तीनका नेताको नाम कण्ठस्थ थिए मलाई।

मैले होलीको कुरा भन्न खोजेको हुँ खासमा यहाँहरूलाई राजनीतिको कुरा कुनै दिन भनुला। २०४७ अगाडि पञ्चायत थियो। पञ्चायत गएर बहुदल आउँदा मान्छे त्यसै खुसी भए हामी पनि खुसी भयौँ। गाउँका सबै दुःखी भए पनि केटाकेटी खुसी नै हुन्छन् भने गाउँलेहरूको खुसीमा हामीहरू खुसी नहुने त कुरै भएन्।

खुसी हुनुको कारण थाहा नपाएरै खुसी हुनुको मजा सानोमा मात्रै अनुभव गर्न मिल्छ। ठुलो भएपछि खुसी हुने उपाय खोज्दा खोज्दै खुसी हुन नपाइने रहेछ खासमा।

बहुदल आएसँगै हाम्रा गाउँको दाजु पुस्ता चलायनमान भइसकेको थियो। हाम्रो सानो गाउँमा पनि ११ जनाको समूह तयार भएको थियो, होली खेल्न र नाटक लगाउनका लागि। त्यो ११ जनाको समूहमा २ जना हामी थप हुँदा समूह १३ जनाको भएको थियो। होली खेल्न भनेर पल्लो गाउँमा थप ३ जना युवा थपिँदा १८ जनाको समूह वसन्त युवा क्लवको ब्यानरमा होली खेल्न तयार भएको थियो २०४८ सालमा।

त्यहीँ होलीमा हाम्रो समूहले प्रधानपञ्चहरूको घर आँगनमा 'बहुदलको जन्म भयो अब पञ्चायतको नष्ट भयो, भन्ने होली गीत नाच्दै, कम्मर मर्काउँदै गाएको हिजो नै हो जस्तो लाग्छ, जब हरेक वर्ष होली पर्व आउँछ।

घरमा जिद्दी गरेर सबैभन्दा कम उमेरको मेरो नाति नाता पर्ने तर साथी मदन र म होली खेल्ने टोलीमा सामेल भएका थियो। त्यो बेला पहाडका गाउँगाउँ पुगेर कम्तिमा चार दिनसम्म होली खेलिन्थ्यो। 'वसन्त युवा क्लव होली कमेटी' होलीको झण्डामा लेखिएको थियो। हाम्रो होली समूहको नेता पृथ्वीराज र गणेशदत्त अवस्थी थिए। दुबै जना नाताले मेरा भतिजो पर्ने। उनीहरुकै उमेर समूहका मेरा दाजु पनि थिए। दाजुसँग र घरमा जिद्दी गरेर म होली खेल्न समूहमा सामेल भएको थिए।

होली आउनुपूर्व करिव एक महिनाको अभ्यास गरेर होली खेल्न गइएको थियो। स्कुलबाट आएपछि साँझ हरेक दिन होलीको अभ्यास हुन्थ्यो। पृथ्वीराज नयाँ होली गीत रचना गर्थे भने हाम्रो घरमा बुवासँग पुराना होली गीतहरूको संग्रह थियो। बुवाले कलमले लेखेका एक दर्जन बढी होली गीत परिमार्जन गर्ने काम दाजुले गरेको हिजो जस्तै लाग्छ।

कागजको झण्डा बनाएर पहिलो वर्ष होली खेलिएको थियो। त्यो वर्ष कति पैसा उठ्यो त्यो ठ्याक्कै थाहा भएन तर वसन्त युवा क्लवको कोष खडा गर्न हामीले खेलेको त्यो होली पहिलो थियो। हाम्रो गाउँका केटाहरूले आफ्नै तागतमा खेलेको पहिलो होलीको सबैभन्दा कान्छो सदस्य थिए म।

होलीको अभ्यास गर्न कसैको घरमा कसैले पनि रोकटोक गर्दैनथे। निर्धक्क होली अभ्यास गरेर ‍औपचारिक होली खेल्ने सुरु हुने दिनको चर्चा र प्रतिक्षा सबैले गरेका हुन्थे। हामीले होली खेल्दा गाउँका सबैजना धेरै रमाइलो मानेर होली सुन्थे, रमाउथे, अझ निकै बिरामी मान्छे भावुक भएर होली खेलेको अवलोकन गर्थे। मैलै गाउँका एक जना भाउजुलाई हरेक होलीको समयमा रोएको देखेको छु। छोरो महानन्द वेपत्ता नभएको भए यसरी नै ऊ पनि होली खेल्थ्यो भनेर भाउजु हरेक वर्ष रुनु हुन्थ्यो।

होली भन्ने बित्तिकै होलीको दाल-भात, थकाइ, रातिको निन्द्रा र दुई दिन पछि स्वर धोत्रो हुने कुरा पनि ताजा भएर सम्झनामा आउने गर्छन्। होली खेल्दा निकै थोरैले नगद पैसा दिन्थे। २० रूपैयाँ पाउनु भनेको त्यो समयमा निकै ठुलो रकम मानिन्थ्यो। अधिकांशले १ रूपैयाँ, २ रुपैयाँ र ५ रूपैयाँ, चामल तथा दाल हामी होली खेल्नेहरूलाई दिने गर्थे। चार दिन होली खेलेर पहिलो वर्षमा सात आठ सय आम्दानी भएको थियो सायद।

होली खेल्दाको थकाइ अहिले पनि महसुस गर्दा गजब आनन्द आउँछ। त्यो थकाइले प्रदान गर्ने भोक र राति आउने मिठो निन्द्राको वर्णन गर्ने शब्द मसँग छैनन्।

पहिलो होलीः मदन र मेरो लज्जाको विषय

सुरूको वर्षको होलीका सहयात्री बनेका सबैभन्दा कम उमेरका मदन र म थियौँ। पहिलो दिन बबिडा र ऐरीगाउँ होली खेलेर रिठाली बास बस्नुपर्ने भयो। रिठाली लेकाली क्षेत्रमा पर्ने गाउँ भएकाले फागुनको महिना भए पनि जाडो हुने नै भयो। राति ९/१० बजे दालभात खाइयो होला।

होली खेलेर थाकेको ज्यान बाझो घरमा गाज्यौ (सुकाएको घाँस) ओछ्याएर हामी होली खेल्नेहरू लहरै सुत्यौँ। सुरूमा थाकेको ज्यान भुसुक्कै निदाए पनि  विहान हुँदै जाँदा निकै जाडो भएर सुतेकै अवस्थामा मदनले आफ्नो आमा र मैले आफ्ना बुवालाई पुकार्दै ओड्ने माग्न बर्बराएका रहेछौँ। जाडोको कारण निन्द्रामै बोलेको र ओड्ने मागेको कुरा बिहान मात्रै थाहा भयो। सबैले हामी दुईलाई उडाउन थाले। हरेक वर्ष होली आयो कि रिठालीको जाडोले च्याप्दा निन्द्रामा हामीले बोलेको विषय हामीलाई नै जिस्क्याउन अग्रज तथा दौतरीहरूले भन्ने सिलसिला पछिसम्म कायम रह्यो। अहिले पनि होली आयो कि मलाई  यो कुराको सम्झना आउने गर्छ।

होलीको भोक र दालभात

होलीको रमाइलो जति हुन्थ्यो त्यति नै कष्ट पनि हुन्थ्यो। तर त्यो कष्टमा पनि रमाइलो भेट्टाउन जाने मजा आउथ्यो। चामलको झोला बोक्नु कष्टकर थियो तर मिश्री र सख्खर खान पाउनुमा मजा थियो। झोला बोक्नेले मिश्री र सख्खर अर्थात गुड आफूखुसी खान पाउथ्यो अरूलाई रोक टोक थियो। मिश्री र गुड खाने मुड चले केही समय चामल बोकेर मतलव निकाल्ने काम सबैले गर्थे।

घरमा खाना पकाउने अवसर नपाएकाहरूका लागि होली पाक कला सिक्ने कक्षा जस्तै हुन्थ्यो। जुन गाउँमा बास बस्यो अर्थात दिउँसो खाना खाने समयमा पुग्यो त्यो गाउँका स्थानीयसँग भाडा वर्तन मागेर पानी भएको स्थानमा गएर खाना पकाइन्थ्यो। दाल जेजस्तो भए पनि भातमा कैफियत हुन सक्थ्यो।

भात केही पाकेको केही काचै हुन्थ्यो। भात काचै रहेको अवस्थामा थालमा माग्दा पाकेको भात थालमा पर्नेहरू आफूलाई भाग्यमानी ठान्थे। संयोगले होलीमा हरेक दिन पाकेको भात खान पाउनेले होलीपछि आफ्नो चलाखीको वर्णन सुनाउथे। होलीमा लाग्ने भोकले दालभात जस्तोसुकै होस् सबैले बढो तन्मयमा साथ भोजन ग्रहण गर्थे। अर्को खानको समय कहिले हुन्छ ठेगान नहुने भएकाले खाना खेर नहालेर खाने अघोषित नियम हुन्थ्यो। खाना पकाउनु, सहभोज गर्नु, सबै मिलेर भाडा वर्तन माझ्नु एक खाले सहकार्य गर्ने अवसर हामीहरूलाई वर्षमा एक चोटी होलीले जुराउँथ्यो।

होलीः समाज र मान्छे चिन्ने अवसर

होलीले हामीलाई हरेक गाउँको आर्थिक, शैक्षिक र सामाजिक अवस्था थाहा पाउने अवसर प्रदान गर्थ्यो। पाँच दिनसम्म दर्जनौं गाउँमा होली खेलेर गाउँ ठाउँको सेरोफेरो हामीले थाहा पाउथ्यौँ। कुन गाउँमा कुन घर प्रधानपञ्चको हो। कुन शिक्षकको हो। कुन आर्मी-पुलिस, अन्य कर्मचारी र व्यापारीको हो भनेर थाहा दिने माध्यम होली थियो। होलीमा प्राप्त हुने चन्दाले हामी त्यो व्यक्तिको आर्थिक हैसियत र मनको आयतन बारे थाहा पाउथ्यौँ। गाउँ सहयोगी भए नभएको पनि होली खेल्दा सजिलै थाहा हुन्थ्यो।

एक अर्थमा सामाजशास्त्रको अनौपचारिक पढाई गर्ने अवसर होली खेल्दा भएको थियो। होलीमा हामीले कुन गाउँमा कसको राजनीति आस्था के छ भनेर पनि थाहा हुन्थ्यो। गाउँका बाटाघाटा, खेत खलिहान, खोलानाला जङ्गल र मान्छेहरुको रहनसहनबारे हामीलाई सामान्य ज्ञान हुने अवसर होलीले दिन्थ्यो। बैतडीको पुरचौडी क्षेत्रका १० वटा गाउँ विकास समितिको बस्तुस्थस्थितिबारे जानकारी प्राप्त गर्ने अवसर होलीले प्रदान गरेको थियो।

होलीः गुराँस फूल र जौपातको रस

हाम्रो होली अर्गानिक हुन्थ्यो। हामीले होली गीत हिन्दीमा कहिल्यै गाएनौँ। एक सय बढी होली गीतहरूको संग्रह थियो हामीसँग। दाजुहरूको समूहले नयाँ नयाँ होली गीत रचेका थिए। पुराना होली गीत जो हिन्दी र कुमैया लवजका  थिए तिनको परिमार्जन र पुनर्लेखन गर्ने काम गरिएको थियो।

हामीले होलीमा लगाउने रङ लालीगुराँसका फूल ओखलमा कुटेर बनाउने गर्थ्यौं। यस्तै जौ तथा अलमोरो भन्ने हरियो र रसिलो घाँस ओखलमा कुटेर निचोरेर बोतलमा भर्ने र बिर्कोमा प्वाल पारेर होलीको रङ्ग छ्याप्ने गरिन्थ्यो। पसलमा पाउने रातो र पहेंलो र हरियो रङ्गको प्रयोग जतनका साथ गरिन्थ्यो। बदमास केटाहरूले लेख्ने मसिको दुरूपयोग पनि गर्थे।

तीन चार बोतल लालीगुराँस र जौ तथा अलमोरो कुटेर बनाएको रङ मन परेको मान्छेको लुगामा फाल्न सक्नु हाम्रा लागि रमाइलो विषय हुने गर्थ्यो।

आहा! त्यो होली २०४८ देखि २०५६ सम्म खेल्ने अवसर पाए पनि त्यसपछि माओवादी विद्रोहका कारण होली खेल्न छोड्नु पर्यो। द्वन्द कालमै गाउँबाट धनगढी पढ्नका लागि आइयो। धेरै साथीहरू स्थायी रूपमै पलायन भए।

अहिले गाउँमा हाम्रा छोराहरूको पुस्ता होली खेल्ने भएको छ। १०-१२ वर्षका तिनीहरू होली नखेल्नु भन्ने घरपरिवारको उर्दीको अवज्ञा गर्दै सुटुक्क होली खेल्न गएर उठेको पैसाले ब्रोइलर कुखुरो किनेर खाने गर्छन अरे। यो कुरा हिजो भाइ फोन गरेर सुनाउँदै थियो।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस