सुदूर नेपाललाई विश्वसँग जोड्दै

'झोला बोकेको ’झोले’ को अर्थ: सोच बदलौं, दृष्टिकोण सुधारौं'

२०८२ जेठ २०, ०९:३३

जनक भण्डारी, प्रस्तावनाः शब्दले बनाउँछ समाज

शब्द केवल उच्चारण होइनन्, तिनीहरूले दृष्टिकोण निर्माण गर्छन्। कहिलेकाहीँ, हाम्रा सामान्य बोलीचालीका शब्दहरूले पनि समाजमा गहिरो अर्थ बोकेका हुन्छन्। ‘झोले’ भन्ने शब्द त्यस्तै एउटा उदाहरण हो—जो झोला बोकेको मानिसप्रति उपेक्षा या व्यङ्ग्य जनाउन प्रयोग गरिन्छ। तर के झोला बोक्नु आफैमा नकारात्मक कुरा हो?

विद्यार्थी कि ‘झोले’?

कल्पना गरौं—यदि झोला बोक्नु नै ‘झोले’ हुने आधार हो भने त हरेक विद्यार्थी ‘विद्यार्थी’ होइन, ’झोले’ हुन्थे। अनि त शिक्षकले बिहान प्रार्थना सभा पछि भन्नुहुन्थ्यो— 'सबै झोलेहरू लाइनमा उभिनु!' 'झेलेनीहरूले होमवर्क बुझाउन बाँकी छ!' विद्यालय, क्याम्पस, पुस्तकालय—जहाँ जहाँ मानिसहरूले ज्ञान र संघर्षका लागि झोला बोकेका छन्, ती सबैलाई हामी ‘झोले’ भन्न थाल्ने हो भने त ’विद्यार्थी’ शब्द नै अप्रचलित हुने खतरा हुन्छ।

झोला: बोझ होइन, उद्देश्यको संकेत

झोला केवल सामग्री बोकेको साधन हो—कसैको पुस्तक, कसैको औजार, कसैको सपना बोकेको थलो हो। त्यसैले मजदुरदेखि प्रोफेसर, शिक्षकदेखि विद्यार्थी, लेखकदेखि राजनीतिज्ञसम्म सबैले झोला बोक्छन्। तर बिडम्बना के छ भने, झोला बोक्दै विचार, आन्दोलन, चेतना बोकेर हिँड्नेहरूलाई ’झोले’ भनेर हाँसोको पात्र बनाइन्छ।

किन?

किनकि उनीहरूले स्थापित सत्तालाई असहज बनाउने विचार बोक्छन्। किनकि उनीहरूले भीडसँग नहिँड्ने आँट गर्छन्। र किनकि उनीहरूको झोलाभित्र ‘प्रश्न’ हुन्छ, जुन सधैं सबैलाई मन पर्ने हुँदैन।

‘झोले’ को नयाँ परिभाषा किन चाहिन्छ?

’झोले’ भन्ने शब्दलाई पुनः व्याख्या गर्न जरुरी छ। यदि यो शब्द आज संघर्ष, चेतना, आन्दोलन, वा वैकल्पिक विचारको प्रतीक बन्न सक्यो भने, यसको अर्थमा गरिमा फर्कन सक्छ।
– जसरी ‘ मजदुर’ शब्द श्रमको प्रतीक भयो,
– ‘गुरु’ ज्ञानको प्रतिक बने,
– त्यसरी नै ’झोले’ पनि संघर्षशील चिन्तकको नाम हुन सक्छ।


निष्कर्ष: दृष्टिकोण बदल्ने बेला

हामीले अब शब्दलाई हेर्ने नजर बदल्नुपर्छ।
झोलालाई होइन, त्यसमा के छ भनेर बुझ्ने अभ्यास गर्नुपर्छ।

तपाईंको वरिपरिका ‘झोले’हरू केवल झोला बोक्ने मानिस होइनन्, तिनीहरू सम्भवतः नयाँ युगको खोजीमा हिँडिरहेका सचेत नागरिक हुन सक्छन्। त्यसैले, अगाडि देखि जब तपाईं कसैलाई ’झोले’ भन्न लाग्नुहुन्छ, एकछिन सोच्नुहोस्— “के उसले झोला मात्र बोकेको छ? कि परिवर्तनको बीउ पनि?”

कमेन्ट लोड गर्नुस