सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘राज्यले मलाई चिन्न सकेन या देखेन ?’

२०८२ जेठ १२, ११:४२

पूर्ण बहादुर बिक : अछाम जिल्लाको उत्तरी भाग र जिल्लाको शिरानमा अवस्थित रामारोशन गाउँपालिकामा रामारोशन पर्यटन क्षेत्र पर्दछ।

यो क्षेत्र अत्यन्तै अलौकिक र प्रचुर पर्यटकीय सम्भावना बोकेको १२ वटा ताल र १८ वटा खण्ड एकै ठाउँमा देख्न मिल्ने अत्यन्तै सुन्दर र रमणीय ठाउँ हो। यो क्षेत्रको अवलोकन गर्न सुर्खेत, दैलेख, कालिकोट, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलाबाट करिब ५÷६ घण्टामा सजिलै पुग्न सकिन्छ। भने लुम्बिनी प्रदेशको राजधानी दाङ, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट करिब १२/१३ घन्टाको यात्रापछि यश पवित्र क्षेत्रमा पुग्न सकिन्छ।

प्राकृतिक सौन्दर्ययताले परिपूर्ण भूस्वर्गको रुपमा अवस्थित रामारोशन पर्यटकीय क्षेत्र प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो। १२ बण्ड १८ खण्डबाट परिचित अलौकिक सुन्दरता प्रचुर प्राकृतिक विविधता भएको यो क्षेत्र सामाजिक सांस्कृतिक तथा धार्मिक ऐतिहासिक विविधताले भरिपूर्ण महत्त्वपूर्ण गन्तव्य स्थलको नाम हो। रामारोशन जिल्ला कै उच्च पहाडमा विभिन्न आकार प्रकारका ताल, चिसो हावा पानी स्वच्छ र सफा वातावरण हरियाली वन–जङ्गल बहु जात–जातिका वनस्पतिका बोट–बिरुवा, विभिन्न प्रजाति चराचुरुङ्गी, वन्यजन्तु, जडीबुटी, मनै प्रफुल्ल बनाउने ठुल–ठुला फाँट, घाँसे तथा दलदल मैदान, यस क्षेत्रका आकर्षकका केन्द्र बिन्दु हुन।

देशकै गौरव राष्ट्रिय फूल लालीगुराँस र बहुरङ्गी डाँफे मुनाल, कस्तूरी मिर्गको वासस्थान हुनुले यस क्षेत्रको सुन्दरतामा थप बल पुगेको छ। अछाम जिल्ला कै सबैभन्दा अग्लो पर्वत चाखा डाडा पनि यसै क्षेत्रमा अवस्थित छ। जसको उचाइ तीन हजार आठ सय मिटर छ। अग्ला÷अग्ला पर्वत, शिर मुनिका पाटनका थुम्कामा कस्तूरी मृग, घोर, झालर, लुकामारीसँगै बास बस्छ्न। प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भएर पनि राज्यको नजरमा रामारोशन पर्यटन क्षेत्र पर्न नसक्नु दुःखद हो। घना जंगल त अग्ला अग्ला चट्टानका बिचमा दर्जन ठुल–ठुला ताल र एक दर्जन भन्दा बढी ठुल–ठुला घाँसे दलदल मैदान यस ठाउँमा छन। यो क्षेत्र धार्मिक रूपमा पनि परिचित छ। यस क्षेत्रसँगै जोडिएको साबिकको भाटाकाटिया गाविसको शिरमा रहेको नन्दामाता माइलाई बर्सेनि पुज्ने गरिन्छ। स्थानीयले वर्षभरि विविध खाले चाड–पर्व, मेला, संस्कृति, भेष–भूषा, चालचलन तथा रीतिरिवाज मान्ने गर्दछ्न। जसमा पुतला, न्याउले, देउडा, होरी, भुवो, यस ठाउँका आकर्षक रीतिरिवाज हुन।

१) पौराणिक महत्त्व

परापूर्वक कालमा रामारोशन क्षेत्रमा भगवान शिव र पार्वतीले स्नान गरेको र यतै वास गरेको भन्ने किंवदन्ती पाइन्छ। यसरी शिव र पार्वतीको वासस्थानको रूपमा चिनिने यो क्षेत्रमा प्राचीन समयमा रामारोशनमा दुई वटा गोरु बाधे छानावाट बेलुकाको समयमा घर फर्की रहेका थिए। बाटोमा एउटा ठूलो राक्षस कराइ रहेको थियो, उ अत्यन्तै भयानक र हिंसक थियो। भेट्यो भने जे भेट्यो त्यो मारेर खाने गथ्र्यो। मानिसलाई सारै दुःख दिन्थ्यो। राक्षसको आवाज सुनी छिटछिटो उनीहरू माथि शिव र पार्वती वस्ने ठाउँ गए । र राक्षस पछाडि आइरहेको थियो। उनीहरूले शिव र पार्वतीलाई धेरै ठूलो पुकार गरे। महादेवले रमा र रोशनलाई किन मलाई पुकारेको मनुष्य भनेर सोधे महादेवलाई देखेर रमा र रोशन खुसी भए र हाम्रो ज्यान खतरामा छ, एउटा राक्षस हाम्रो पछाडी आइरहेको छ बिन्ती छ हजुरले हामिलाइ बचाउनु पर्यो। उनीहरूको बिन्ती सुनु महादेवले राक्षसलाई समाती ठूलो चौरमा फलामको डोरिले बाँधी चौरमा पानी भरिदिनु भयो र राक्षस उम्कन पाएन र यस ठाउँमा प्राचीन कालमा बसोबास गर्ने रमा र रोशनले सदाका लागि राक्षसबाट मुक्ति पाई कालान्तरमा यस ठाउँको नाम रामारोशन रहेको भनाइ छ।

२) पर्यटकीय महत्त्व

हरियो कार्पेट बिछ्याए जस्तै अनुभव गर्न मिल्ने, सम्म परेका मनै लोभ्याउने मन आनन्द र प्रफुल्ल बनाउने जमिनका फाँट, आकाशै छोप्ने जस्तो पहाडका अग्ला अग्ला चुचुरा, तालमा पौडिरहेका जलहास, नाचिरहेका डाँफे, लुखुरो–लुखुर दौडिरहेका मृग र कस्तुरि, थरीथरीका लालीगुराँस जस्ता दृश्यले सबैको मन लोभ्याउछ। छागा, छहरा, चुचुरो, चट्टानले सबैको मन मस्तिष्क आनन्दको अनुभूति दिइरहेको हुन्छ।

३) धार्मिक तथा सांस्कृतिक महत्त्व

रामारोशन क्षेत्रलाइ महादेव र पार्वतीको वास स्थानको रूपमा रहेको मानिन्छ। यो क्षेत्रलाई पर्यटन धार्मिक र ऐतिहासिक रुपमा पनि गहिरो अध्यायन गरि धार्मिक पर्यटनको रूपमा पनि विकास गर्न सकिन्छ। परापूर्वकालमा राक्षसलाइ जिगाले तालको बिचमा रहेको खम्बामा वाधेर मारेका हुदा त्यसपछी यस क्षेत्रमा मानिस आउन–जान सक्ने भएको स्थानीयको भनाइ छ।

४) आकर्षणहरू

उच्च पहाडी भागमा घना जंगलभित्र वारै महिना टलक्क टल्की रहने १२ वटा तालहरू जिगाले, बाटुला, लामिदह, तल्लो धउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, वाउलेगडा, रामेताल र यस्तै ठुला–ठुला १८ वटा मैदान र घासे मैदान का फाट र कैलास जस्तो पवित्र नदीको मुहान पनि यही क्षेत्र हो। यिनै यस क्षेत्रका आकर्षणका रूपमा छ्न।

५) प्राकृतिक सौन्दर्ययता

धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरि नसक्नु छ। यो क्षेत्र पर्यटकहरूको लागि स्वर्गको एक टुक्रा हो। दर्जनौ ताल र दर्जन भन्दा बढी समथल फाटहरू ढकमक्क फूलेका थरी–थरीका लालीगुराँसहरूले मनै लोभ्याउछ। हरियो पाटनमाथि सेताम्य हिउँ डाँफे, मुनाल लगायत विभिन्न जातका चरा–चुरुङ्गी देख्न सकिन्छ। यसो हेर्दा रामारोशन साँच्चिकै ईश्वर कै बरदान हो। र प्रकृतिले दिएको अनुपम उपहार हो।

६) पर्यटकीय सम्भावना

रामारोशन पर्यटन विकासका लागि संरक्षित क्षेत्र बनाइ प्रचार–प्रसार र पर्यटन विकासका लागि आवश्यक पर्यटन पूर्वाधार विकास गर्न सके, यो क्षेत्र निकै अगाडी बड्न सक्ने सम्भावना रहेको छ। अग्ला–अग्ला पहाडका बिचमा रहेको रामारोशन क्षेत्रमा आर्टिफिसियल पनि धेरै गर्न सकिने सम्भावना छ। जस्तो प्याराग्लाइडिङ रकक्लाइम्बिङ जलविहार विभिन्न खालका खेलकुद स्पोट्र्सको विकास गर्न सके थप यो क्षेत्र आकर्षक र मनमोहक हुने प्रचुर सम्भावना पनि छ।

 

लेखक : पूर्ण बहादुर बिक, कार्यकारी अधिकृत, रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति, अछाम

 

कमेन्ट लोड गर्नुस