सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्मरणः मस्तिष्कमा गढेको डडेल्धुरा

२०८२ जेठ ११, १०:३६

जनक भण्डारी, धनगढी : बाल्यकालका केही स्मृतिहरू रातमा देखिने अधुरा सपना जस्तै हुँदारहेछन्-न त पूरा सम्झन सकिने, न त पूर्ण रूपमा भुल्न सकिने। अपुरा तर कताकता जुनकिरीको उज्यालोझैँ टल्किरहने। त्यस्तै एउटा स्मृति मेरो मानसपटलमा बारम्बार उदाउँछ—मनभित्र कतै टल्किरहेको, तर अपूर्ण। कहिले काँही ती सम्झनाहरू चुपचाप आउँछन्—कसैले बोलाएको पुरानो आवाजझैँ, टाढाबाट सुसाउने सल्लाघारीको सुसाइझैँ।

म सम्झन्छु—एउटा बाटो थियो; उकालो–ओरालो, साधुरा र धुलाम्य घल्छीहरू पार गर्दै थकित मेरा खुट्टा, धुलोले भरिएका चप्पलहरू, अनि वरिपरिको गाउँका बस्तीहरू हेरेर रमाएका बाल्यकालीन ति– मनहरू।

म कति वर्षको थिएँ? कति कक्षामा पढ्थेँ? आज ठ्याक्कै सम्झन सक्दिनँ। तर एउटा कुरा भने अझै पनि मस्तिष्कमा ताजै छ—मैले पहिलोपटक डडेल्धुरा बजार देखेको त्यो दिन। त्यो बजार, जुन हामी गाउँलेहरू ‘डडेल्धुरा’ होइन, ‘ बागखोण’ वा ‘वागबजार’ भनेर चिन्थ्यौं।

म पहिलो पटक गाउँलेहरूको एक समुहसँग वागबजार जान तम्सिएको थिएँ—बुवाको आदेशको अवज्ञा गर्दै। वुवा भन्नुहुन्थ्यो, “तँ न जा, हिँड्न सक्दैनस। वागखोण यहाँ हो र? धेरै टाढा छ!“ तर मेरो बालहठ अगाडि बुवाको केही लागेन। शायद त्यो बालहठ होइन, पहिलोपटक संसार देख्ने चाह थियो, जुन एक वालकको आत्माभित्र गहिरो कुण्ठा भएर उम्लिरहेको थियो। र अन्ततः मलाई जान अनुमति दिनुभयो।

हामीले हिंडने बाटो कुनै सजिलो थिएन—न शरीरका लागि, न मनका लागि। त्यो समय हाम्रो गाउँको बीच भागबाट एउटा पुरानो घोरेटो बाटो थियो, जसले तराईदेखि बैतडी र दार्चुलासम्म जोड्थ्यो। मानौँ, त्यो बाटो पीडाको रेखा थियो, जहाँ गाउँको दुःख, पसिना र सपना सँगै बग्थे। त्यही बाटो हुँदै मानिसहरू खच्चरमा सामान ओसार–पसार गर्थे। हामीले पनि डडेल्धुरा जान त्यही बाटो प्रयोग गरेका थियौं।

घरबाट स्थानिय पुईलेक (जहाँ एकदुई वटा मात्रै चियापसल थिय) हुँदै कोटेलीको गाउँ ( जस्लाई कोल्टी भनिन्थो )पार गरेर, भजनेउटाको ओरालो झर्दै अगरगाणको उकालो नकाटी सक्दासम्म यात्रा अत्यन्तै कठिन हुन्थ्यो—भारीले थिचिएको शरीरमा झन उकालो चढ्नुपर्ने पीडा! त्यो बाटो, जसलाई स्व. डा. तारानाथ शर्माले “घनघस्यको उकालो चढ्दा” नामक आफ्नो यात्रा संस्मरण को एक पंक्तीमा “अघोरीगाड” भनेर उल्लेख गर्नुभएको छ, वास्तवमा “अगरगाण” थियो त्यो—नाम जस्तै उकालो पनि भुल्न नसकिने।

त्यो समय झ्याउ टिप्ने चलन निकै चल्तीमा थियो। बिहानै उठेर माथि सल्लाघारी वा सुईडोवको लेकतिर लाग्थे मानिसहरू—पिठ्युँमा भारी, आँखामा आशा। जम्मा पारिएको झ्याउ डडेल्धुरा बजारसम्म बेच्न लैजान्थे। त्यसै पैसाले नून, गुण, तेलदेखि लुगाफाटोसम्म किनिन्थ्यो—एक प्रकारको जीवनयात्रा, जहाँ पसिनाको मूल्यले संसार किनिन्थ्यो।

म पनि तिनै गाउँलेहरूको हुलमा थिएँ—सुर्के झोला पिठ्युँमा भिरेर, निलो रंगको चप्पल पड्काउँदै उनीहरूको पछि पछि हिँडेको थिएँ। त्यो झोला, त्यो चप्पल, र त्यो यात्रा—आज पनि मेरो स्मृतिमा उस्तै ताजा छन्। यद्यपि मैले त्यो दिन कस्तो लुगा लगाएको थिएँ, त्यो भने याद छैन—शायद त्यो भन्दा बढी महत्त्वपूर्ण कुरा मेरो मनको उत्साह थियो।

अगरगाणको उकालो चढिसकेपछि मात्रै रातागुन पुगिन्थ्यो। त्यहाँबाट दाहिने तिर उग्रतारा मन्दिर जाने ठाडो उकालो बाटो थियो भने बायाँ तिर डडेल्धुरा जाने धुलाम्मे सडक सुरु हुन्थ्यो। साँघुरो सडक—दुवै छेउ अग्ला ढिस्काले घेरेको। सडकको धुलो यति बाक्लो हुन्थ्यो कि कहिलेकाहीँ मेरो खुट्टा घुँडासम्मै भासिन्थ्यो। लाग्थ्यो, यो यात्रा केवल शरीरको यात्रा होइन, आत्माको पनि परीक्षा हो।

रातागुण पछी केहिपर घुम्तीमा रहेको एउटा ठूलो सिलङ्गाको रुख र चौतारोलाई “टोटेसिलङा” भनिन्थ्यो। त्यही चौतारोमा भरियाहरूले भारी बिसाएर विश्राम लिँथे। टोटेसिलङा—नाम धेरैपटक सुनेको थिएँ, तर देखेको भने पहिलोपटक त्यही दिन। त्यो चौतारो—थकाइ, सास र सपनाको संगम जस्तो लाग्थ्यो।

हामीले पनि त्यहाँ एकछिन विश्राम गर्यौं। थोरै समयमै हामी डकले पुग्यौं—त्यहाँ एउटै मात्र पसल थियो। पसलेले टिनको कन्टेनरबाट लोटामा पानी दिए, सबैले पालैपालो एउटै लोटामा पानी पियौं। त्यो पानी—अद्वितीय मिठासको स्रोत। प्यास मेटाउने मात्र होइन, यात्राको थकान बिर्साउने जादु।

डकलेको चट्टानका साँघुरो गल्छी पार गरेपछि सडक छोडेर ठाडो उकालो बाटो चढ्यौं—त्यही बाटोले किरमणे बजार पुर्याउँथ्यो। किरमणे—साना ढुङ्गाका घरहरूले बनेको बजार। तर सडक अझै पनि धुलाम्मे थियो। अगाडिबाट ट्रकको आवाज सुन्नासाथ हामी सयौं मिटर टाढैबाट साइड लाग्थ्यौं—नत्र त धुलोले हाम्रो अस्तित्व नै मेटिने जस्तो लाग्थ्यो।

त्यो बेला हालको तुफानडाँडा बजार थिएन। केवल त्यहाँबाट खलङ्गा जाने एक थानो ठाडो बाटो मात्र थियो। डडेल्धुरा पुग्नै लाग्दा “सिलङधारा” आइपुग्थ्यो—त्यहाँ पुगिसकेपछि भने बजार प्रवेश गर्न लागेको अनुभूति हुन्थ्यो। हावा अचानक फरक लाग्थ्यो—जस्तो केही म कुनै नौलो संसार मा प्रवेश गरेको छु।

अन्ततः हामी सबै जना वागबजार पुग्यौं। बजारको अन्तिमतिर, हालको बस स्टेसन रहेको ठाउँमा झ्याउ संकलन गर्ने ठूलो काठको तराजु थियो। सबैले आ–आफ्नो भारी बिसाए, पालैपालो सामान जोखाएर पैसा बुझे। नून, गुण, साबुनदेखि चप्पल सम्म किने। मैले पनि कापी र एउटा “ठूलो वर्णमाला“ किनेको अझै सम्झना छ—शायद त्यो नै मेरो पहिलो स्वाध्यायको उपहार थियो।

त्यसपछि सबैले आठ आनामा एक प्लेट चना खायौं। अनि के के भयो..., त्यो सम्झन सकिरहेको छैन। तर, मनभित्र सजिएको डडेल्धुरा बजारको कल्पना र प्रत्यक्ष देखेको त्यो पहिलो अनुभूति—धेरै फरक थियो। शब्दमा समेट्न नसकिने त्यो रोमाञ्चकता, त्यो आश्चर्य, त्यो मिठो थकान—आज पनि त्यो दिन, त्यो यात्रा, त्यो धूलो सडक, त्यो निलो चप्पल,त्यो पहिलो झलक र त्यो “ठूलो वर्णमाला“—मस्तिष्कमा उस्तै गढिएको छ। ताजा नै छ।

 

कमेन्ट लोड गर्नुस