सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला स्वस्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

२०७९ मंसिर २०, १०:४१


कैलालीः कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेविकाको रूपमा काम गरिन। तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन। नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो।स्वयंसेविकालाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनको छ।

“बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो। कतिले गाली गरे। कतिपयले घर भाँड्न आएकी भनेर आरोप लगाए”, उनले भनिन, “कहिले घाम कहिले पानी गर्दै तीन दशक बितेको थाहै भएन। यो तीन दशकमा कति राम्रा कति नराम्रा काम भए होलान्। म मैले गरेको कर्मबाट निकै सन्तुष्ट छु।” चन्द्रावती शर्माले पनि २७ वर्ष महिला स्वस्थ्य स्वयंसेविकाको रूपमा काम गरिन।

विसं २०५२ देखि महिला स्वस्थ्य स्वयंसेविकाको रूपमा समुदायका प्रत्येक घर–घरमा पुगेकी उनि कुष्ठरोग निवारणका लागि समुदायमा सञ्चालन भएको अभियानका क्रममा समुदायबाट लखेटिएको स्मरण गर्छिन। हुन त त्यसबेला अभियान सञ्चालन हुँदा कुष्ठरोगको नामबाट अभियान सञ्चालन गरिएको थिएन। सुदूरपश्चिममा तत्कालीन समयमा कुष्ठरोगलाई गलत तरिकाले व्याख्या गर्ने गरिन्थ्यो।

“कुष्ठरोग निवारणका लागि अभियान चलाउँदा स्थानीयले हामीलाई लखेटेको मलाई अहिलेजस्तै लाग्छ”, उनले भनिन, “कैयौँ त्यस्ता दिन थिए जहाँ समाजले हाम्रोबारेमा राम्रोभन्दा नराम्रो व्याख्या गर्ने गरेका थिए।” आज आफूले गएको कामबाट उहाँ गर्व गर्छिन। आज सानो समस्या पर्दा उहाँलाई खोज्दै आउने धेरै छन्। “कुनै महिलालाई समस्या हुँदा कैयौँपटक सल्लाह लिन आउछन।

स्वस्थ्यका गतिविधि सञ्चालन हुँदा समुदायका नागरिकलाई सूचना पु¥याउने माध्यम महिला स्वस्थ्य स्वयंसेवक छन”, उनले भनिन, “हिजो यो कार्यमा लागेको सम्झिँदामात्रै पनि निकै पीडा हुन्थ्यो, आज गर्व लाग्छ।” नगरपालिकाको वडा नं ६ की सरस्वती चौधरी दुई दशकदेखि महिला स्वस्थ्य स्वयंसेविकाको भूमिकामा छिन। गाउँमा कोही बिरामी हुँदा उपचारका लागि स्थानीय घरमा पुग्ने गरेको अनुभव उनको छ।

“सामान्य रुघाखोकी, झाडापखालाजस्ता समस्या हुँदा पहिला–पहिला स्थानीय मसँग उपचार र औषधिका लागि आउथे। उनिहरुलाई उपचारको पहुँचमा लिएर समस्या समाधान गर्थे”, उनले भनिन, “अझै पनि हामीले आफ्नो जिम्मेवारी बिर्सेका छैनौँ। गर्भवती महिला, बालबालिकाको भरणपोषण, खोपलगायतका महत्वपूर्ण कुरामा हामीले निगरानी गर्दै आएका छौँ।”

महिला स्वास्थ्य स्वयंसेवक बबी रावललाई पुरानो अनुभव छैन। विसं २०७४ देखि महिला स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्दै आउनुभएकी रावलले पुराना महिला स्वस्थ्य स्वयंसेवकको जस्तो अनुभव लिन पाइनन। त्यो बेलासम्म नागरिक सचेत भइसकेका थिए। बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मानसिकताको विकास भइसकेको थियो। “स्वस्थ्य संस्थाबाट प्रवाह हुने सूचनाका बारेमा बुझ्न महिला घरमै पुग्ने गर्छिन।

त्यस्तो कुनै सूचना प्रवाह गर्नुपर्ने भए हाम्रो सक्रियता बढ्छ”, उनले भनिन, “समुदायमा स्वयंसेविकाको भूमिका अझै महत्वपूर्ण छ तर जुन भूमिका हिजो थियो त्यति गाह्रो भने छैन।” अहिले पहिलेको जस्तो अवस्था भने छैन। स्थानीय सरकारले पनि महिला स्वस्थ्य स्वयंसेविकालाई सहयोग गर्दै पनि आइरहेको छ। टीकापुर नगरपालिकाले ६० वर्ष पूरा भएका महिला स्वस्थ्य स्वयंसेवकलाई सम्मानसहित बिदाइ गरेको छ।

यस वर्ष पनि दिव्यश्वरी र चन्द्रावती दुवैलाई जनही ८० हजार नगदसहित सम्मानपत्रसहित बिदाइ गरेको छ। नगरपालिकाले ६० वर्ष पुगेका महिला स्वस्थ्यस्वयंसेविकालाई ८० हजार नगद र सम्मानसहित बिदाइ गर्ने गरी कार्यविधि नै बनाएको नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले बताए। उनले स्वस्थ्य क्षेत्रको सफलतामा महिला स्वस्थ्य स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताए। “समाजको निर्णायक भूमिकामा महिला स्वस्थ्य स्वयंसेविका छन्।

उनिहरुको कामको जति प्रशंसा गरे पनि कम हुन्छ”, उनले भने, “कुनै सेवा सुविधाबिना पनि समाजका लागि गरेको योगदानलाई स्थानीय सरकारले थोरै भए पनि सहयोग गरेको र आगामी दिनमा त्यसलाई अझै बढाएर लैजाने छ।” नगरपालिकाले यसभन्दा पहिला नगरपालिकाभित्रका एक सय २० महिला स्वस्थ्य स्वयंसेविकालाई मोबाइल सहयोग गरेको थियो भने अहिले महिनामा एक सयको रिचार्ज कार्ड र मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ। साथै सङ्घीय सरकारले रु एक हजार उपलब्ध गराउँदै आएको छ। उनि हरुले वार्षिक रु १० हजार पोशाक भत्ता पाउने गरेको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए। रासस

कमेन्ट लोड गर्नुस