सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासका स्थानीयलाई नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउँदै

२०८१ वैशाख १८, ०६:२५ नारायण अवस्थी

धनगढीः रक्तसञ्चार केन्द्र धनगढीले कञ्चनपुरको पुनर्वासका स्थानीयलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ।

यस्तो व्यवस्था गरिएपछि नियमित रुपमा रगत चढाउनुपर्ने बिरामीलाई राहत पुगेको हो। पुनर्वास नगरपालिकाले आफ्ना नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र धनगढीसँग सम्झौता नै गरेको छ। नगरपालिकाले गत आर्थिक वर्षदेखि धनगढीस्थित अस्पतालहरूमा उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको हो।

पुनर्वास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बिरामीले चढाएको रगतको पैसा नगरपालिकाले तिर्ने सम्झौता भएको नगर प्रमुख तोयप्रसाद शर्माले बताए। ’धनगढी गएर उपचार गर्ने पुनर्वास नगरपालिकामा बसोबास गर्ने बिरामीलाई रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगतको व्यवस्था गरेका छौँ,’ उनले भने, ’सरकारी तथा निजी जुनसुकै अस्पतालका उपचार गरे पनि सबैले निःशुल्क रगत पाउने र त्यसको रकम नगरपालिकाबाट भुक्तानी गर्छौँ।’

पुनर्वास नगरपालिकाले वार्षिक रुपमै सम्झौता गरेर निःशुल्क रगत उपलब्ध हुने व्यवस्था मिलाएको हो। सम्झौता हरेक वर्ष नवीकरण हुने नगर प्रमुख शर्माले बताए। नेपाल रेडक्रस धनगढीबाट सञ्चालित रक्तसञ्चार केन्द्रसँग पुनर्वास नगरपालिकाले गत आर्थिक वर्षबाट स्थानीयलाई निःशुल्क रगतको व्यवस्था मिलाउन सम्झौता गरेको नगर प्रमुख तोयप्रसाद शर्माले बताए।

पुनर्वास नगरपालिकाले रक्तसञ्चार केन्द्र धनगढीसँग गत वर्ष ३ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौता गरेकोमा यो वर्ष ५ लाख बजेटको व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको अहिलेसम्म पुनर्वास घर भएका बिरामीले रक्तसञ्चार केन्द्र धनगढीबाट १५७ पिन्ट रगत लगिसकेका छन्।

स्थानीय तहहरूले बिरामीलाई निःशुल्क रगत पाउने व्यवस्था मिलाएका कारण डायलाइसिस, थाइलेसिमिया, सिकलसेल एनिमिया जस्ता रगतजन्य रोग लागेका बिरामीले ठुलो राहत पाएको रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए। ’कञ्चनपुरको पुनर्वास नगरपालिका, कृष्णपुर र बेलौरी नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउन सुम्झौता गरेका छन्।

यस्तै, कैलालीको कैलारी गाउँपालिका र धनगढीको वडा नम्बर १६ ले पनि सम्झौता गरेका छन्,’ उनले भने, ’यस्तो सम्झौताले डायलाइसिस गराउनुपर्ने बिरामीलाई ठुलो राहत पुगेको छ। यस्तो सम्झौता अन्य पालिकाले पनि गरे विपन्न बिरामीलाई राहत मिल्ने थियो।’ रक्तसञ्चार केन्द्रलाई रक्तदाताहरूले रगत दान गर्ने भए पनि रगतको परीक्षण, संरक्षण र व्यवस्थापनमा खर्च हुने गरेको छ। जसका कारण रक्तसञ्चार केन्द्रले व्यवस्थापन शुल्क स्वरुप हरेक पोका रगतमा १ हजार १५० शुल्क लिने गरेको छ।

डायलासिस गराउने बिरामीले हरेक पटक रगत चढाउनुपर्ने अवस्था हुने हुँदा रगतमै मासिक ६ हजारसम्म खर्च हुन्छ। स्थानीय तहहरूले कम्तिमा पनि रगतको मूल्य तिर्न सहयोग गरे बिरामीले नगरपालिकाबाट राहत पाउन सहज होस् भनेर रक्तसञ्चार केन्द्र धनगढीसँग हरेक वर्ष सम्झौता नवीकरण गरिने नगर प्रमुख शर्माले बताए। ’हामीले सर्वसाधारणको उपचारमा सहज होस् भनेर निःशुल्क रगत पाउने व्यवस्था मिलाएका हौँ।

यो कामबाट बिरामीलाई राहत मिलेको महसुस पनि गरेका छौँ, निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ।’ पुनर्वास नगरपालिका जस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, कैलालीको कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका वडा नम्बर १६ ले रक्तसञ्चार केन्द्रसँग निःशुल्क रगत पाउने सम्झौता गरेका छन्। बिरामीले लगेको रगतको सेवा शुल्क सम्बन्धित पालिकाले तिर्ने गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस