धनगढीको शिवपुरी धाममा पिङ सञ्चालन, शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा पिङको उद्घाटनसँगै दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।
हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको अवसरमा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। धनगढी उपमहानगरपालिका–३ को वडा कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीयवासी, धामका पदाधिकारी तथा शिवपुरी वन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धि खड्काले पिङको उद्घाटन गरेका थिए। उद्घाटनपछि उनले चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले हिन्दु धर्म तथा संस्कृतिअनुसारका परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै समाजमा हत्या, हिंसालगायतका आपराधिक गतिविधि हुन नदिन सबै सचेत हुनुपर्ने धारणा राखे।
दशैँका अवसरमा पिङ खेल्ने परम्परालाई जगेर्ना गर्न धाममा पिङ राखिएको आयोजकले जनाएको छ। दशैँमा कम्तीमा एकपटक भए पनि भुइँ छाडेर पिङ खेल्नुपर्छ भन्ने धार्मिक तथा सामाजिक मान्यता रहेकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले पिङ खेल्ने परम्परालाई निरन्तरता दिनुपर्ने धामका कार्यबाहक अध्यक्ष दानसिँह धामीले धारणा राखे ।
उनले पछिल्लो समय धर्म र संस्कृतिप्रतिको लगाव घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले नयाँ पुस्तामा धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षण गर्ने भावना विकास गर्नुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकको सम्मान र अग्रजप्रतिको आदरभावलाई कायम राख्न आग्रह गरे।
दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरूले आपसमा भेटघाट गर्दै शुभकामना साटासाट गरेका थिए। यस्ता कार्यक्रमले समुदायका व्यक्तिबीच आत्मीयता बढाउनुका साथै धार्मिक तथा सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उन्नति र प्रगतिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेको छ।