सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम : अघिल्लो वर्षको बचत पौने पाँच अर्ब, बजेटमा देखाइयो साढे नौ अर्ब

२०८३ असोज २५, ०४:१० खबर संवाददाता

धनगढीः अघिल्लो आर्थिक वर्षको वास्तविक बचत पौने पाँच अर्ब रुपैयाँ मात्रै रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले नौ अर्ब ६५ करोड रुपैयाँ बचत हुने अनुमानसहित बजेट ल्याएको छ । वास्तविक बचतभन्दा झण्डै दोब्बर रकम स्रोतका रूपमा देखाउँदै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गर्दै गत वर्षको बचतबाट नौ अर्ब ६५ करोड रुपैयाँ उपलब्ध हुने अनुमान रहेको भन्दै स्रोतका रुपमा प्रस्तुत गरेका छन्। तर, अघिल्लो आर्थिक वर्षको वास्तविक बचत भने चार अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ । वास्तविक बचतभन्दा चार अर्ब ९१ करोड रुपैयाँ बढी रकम बजेटको स्रोतमा समावेश गरिएको देखिन्छ ।

बजेटको खर्च व्यहोर्ने अन्य स्रोतमा प्रदेश सरकारले आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखेको छ । त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार रुपैयाँ जुटाउने अनुमान गरिएको छ । मन्त्री मल्लका अनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबापत नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुनेछ । त्यसैगरी, रोयल्टी बाँडफाँडबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । तर, बजेटसम्बन्धी विवाद र सरकार परिवर्तनका कारण उक्त बजेट पारित हुन सकेन।

वर्तमान सरकारले पनि अघिल्लो सरकारले प्रस्तुत गरेकै अंकमा बजेट ल्याएको हो। 

कमेन्ट लोड गर्नुस