सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक
धनगढी: धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। असोज ८ गतेदेखि १५ गतेसम्म धनगढी रंगशालामा हुने फुटबल प्रतियोगिताको एक कार्यक्रमबीच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो।
पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ ओटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
सार्वजनिक खेल तालिका अनुसार असोज ८ गते हुने उद्घाटन खेलमा दुबै प्रदेश खेल्ने भएका हुन्। सुदूरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमति प्रदेश र प्रदेश नम्बर १ समुह ए मा रहेका छन्। समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ।
यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेको छ। 'हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप' मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ। यो प्रतियोगिताको चौथो संस्करण हो।