सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्याफ्रुबेँसीमा बाढीले भत्काएको पुल पुनः सञ्चालनमा

२०८३ कार्तिक २३, ०२:३७ खबर संवाददाता

काठमाडौं: बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुल पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ। भदौ १० गते आएको बाढीले क्षति पुर्‍याएको पुल विभिन्न निकाय र स्थानीय समुदायको संयुक्त प्रयासमा तीन दिनमै पुनर्निर्माण गरिएको हो।

पुल पुनर्निर्माणमा नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि र कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायले संयुक्त रूपमा श्रमदान गरेका थिए।

पुनर्निर्माणका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको जनाइएको छ।

विपद्को कठिन परिस्थितिमा सबै पक्षबीचको एकता, सहकार्य र सामूहिक प्रयासबाट छोटो समयमै पुल पुनर्निर्माण हुनु उदाहरणीय भएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदा कुमार न्यौपानेले बताए।

पुल पुनः सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाको आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस