मेरो फकिर प्रेम ‘बुवा’
-कुवेर खड्का (फकिर यात्री ३६)
प्रेम एक महासागर हो, जसको मूल्य हुँदैन। प्रेम नै अग्निको प्रतीक हो। त्यस्तै मेरो फकिर प्रेम ‘बुवा’। जसको सुन्दरता र मिठो बास्नाको म वर्णन गर्न सक्दैन। हरेक कार्यमा हजुरको नै सुन्दरताले मलाई छोएको छ। जीवनको अन्तिम घडीमा पनि छोराछोरीबारे सोच्ने !
जुन हामी कुनै पनि ढुङ्गाको मूर्तिमा पाउँदैनौ त्यो माया, सुन्दरता अनि अटुट भएको महसुस गर्न पाउने भनेकै नै कर्मले दिएको हरेक कार्य सफल पार्न त्यहीँ सुन्दर फूलको कोपिला आमाबुवा हुन्।
घामका किरणहरुमा हजुरको अनुभूति खोज्छु बुवा। रातमा जुन ताराहरुसँग सधै हजुरबारे सोध्छु। रगतका नसामा हजुरको माया दौडिन्छ, उम्लिन्छ। आँखामा भरिएका पानीहरुमा हजुरको तस्बिर निरन्तर पौडिन्छ।
मुटुको हरेक धड्कन हजुरको सम्झना लिइ गुन्जिन्छ, भक्कानिन्छ दुःखमा हजुरहरुको हात समात्न मन लाग्छ। तर के गरौं ‘बा’ नै रहेनन्। म दोषी कि मेरो भाग्य दोषी ? बुवाको मुख हेर्ने दिन अर्थात कुशेऔंसी। यो दिन नै दोषी मैले बुझ्न सकेको छैन, बुवा।
मेरो पहिलो गुरु, मेरो पहिलो साथी, मेरो पहिलो डाक्टर, मेरो पहिलो प्रेम, मेरो साहस सबैथोक आमाबुबा हुन्। बालपनमै घर छोड्नु त्यो बाध्यता र सुअवसर म दिनानुदिन सपनामा देखिरहन्छु। स्कुल जाँदा भन्नुहुन्थ्यो ‘अब त मेरो छोरो डाक्टर हुन्छ रुनुहुन्न जाउ छोरा। मानिसले घर छोड्नुपर्छ।’
त्यही दोड्ने क्रममा मैले अन्तिम सासमा पनि हजुरको काँधमा आउन पाएन। शितल भइसकेको त्यो मृत शरीरलाई छुन पाएन बुवा। म जस्ता थुप्रै होलान् तर माया र सद्भावको खानीमा हुके। म कसरी मन थाम्नसक्छु बुवा।
हजुरको सपना सँगै जोडिएको मेरो जिम्मेवारी पूरा गर्नै क्रममा हजुरले छोडेर जानू भयो। मरुभूमिको गर्मीले त्यति पोल्दैन जति हजुरले दिएका उखान र सिकाएका आफ्ना जीवनका मार्मिक अनि तार्किक कुरा यर्थातमा बोध गर्छु।
मेरो जीवनको पहिलो बिरामी हजुर नै हुनुहुन्थ्यो। गाडीमै बसेर औषधि र सिरिन्ज दिएको थिए। त्यो दिनको खुसीको म वर्णन गर्न सक्दिन। तर आज छोरो आफ्नै जन्मभूमिमा सेवा दिदैगर्दा हजुरले देख्न पाउनु भएन मेरो ठूलो दुर्भाग्य सम्झन्छु।
बुवा पलपल हजुरको यादले सताइरहन्छ हिजोआज। हजुरलाई भाइले सोधिरहन्छ याद गरिरहन्छ। आमाको उस्तै आँखा रसाएको हुन्छ। त्यो अन्तिम घडीमा उपस्थिति जनाउन नसकेर हो कि बुबा ? आज पलपल हजुरको यादमा बिरह आसु खसिरहेका छन्।
हजुरले टुहुरो बनाएदेखि मन एक्लो भएको छ बुवा। म भूतकाल सम्झेर वर्तमान दिनहरुलाई बयान गर्न सक्दिन बुवा। कस्तो अवस्थामा हुनुहुन्छ भनेर त्यो पीडाले झन् पिरोलिन्छ। म पशुपतिनाथ मन्दिरमा हुँदा हजुरको देहावसान भएको खबर पाए। मन्दिरको फल पाउनुको सट्टा मेरो जीवनदान दिने मेरो दाता सृष्टि गुमाएको खबर पाए। सपनाको सानो संसारमा अघि बढ्ने कोशिसमा छु। हजुरको सधैं आशिर्वाद मसँघ हुनेछ म पूर्ण विश्वासमा छु। बुवा हजुरको स्वर्गमा बास होस्। बुवाबिनाको घर नहोस। नमन् अनि कृतज्ञता साथै शुभकामना।
पर्यावरण जगेर्ना र आत्माको चिरञ्जीवी नै वृक्ष। बुवाको मुख हेर्ने दिनलाई सामाजिक सञ्जालमा मनाउनुभन्दा बुवाको सम्झनामा वृक्षारोपण।