आज सभामुख पदका लागि उम्मेदवारी दर्ता, डीपी अर्याल लगभग निश्चित
काठमाडौँः संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। त्यसपछि साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ।
चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ। प्रस्तावकले उम्मेदवारको नाम प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि छलफलमार्फत अन्तिम निर्णय गरिने कार्यसूची रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख पदका लागि आफ्नो उपसभापति डोलप्रसाद अर्याललाई अघि सारेको छ। पार्टीको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधि सभामा बहुमत (१८२ सिट) रहेको कारण उनी सभामुखमा निर्वाचित हुने लगभग निश्चित मानिएको छ।
हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दै आएका छन्।
यसैबीच, सभामुख निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने कार्यतालिका छ। उक्त पदका लागि उम्मेदवारी दर्ता चैत २२ गते हुनेछ।
पूर्व उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद खाली रहेको छ।