सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका गाउँ–गाउँ गएर ठगी गर्ने महिला पक्राउ

२०७९ साउन २६, ०४:२२ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले ठगीको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुलेको आरोपमा २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको हो। उनी बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरकी बासिन्दा रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। 

उनीमाथि विद्यार्थीका अभिभावकबाट ५ सय असुलेको आरोप छ। थारुले सो बाफत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने आश्वासन दिएकी थिइन्। गुड नेवर्स नामक संस्थामा काम गर्ने बताउने उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन्। 

प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ। ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको आधारमा थारुलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार कविता थारुलाई सन्तोष पाण्डे भनिने व्यक्तिले उक्त कार्यमा संलग्न गराएको खुलेको छ। पाण्डेको खोजी भइरहेको र थारुमाथि जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए।  उता गुड नेवर्सका कैलाली/बर्दिया इञ्चार्ज रञ्जित चौधरीले घटनामा संलग्न महिला आफ्नो संस्थासँग आवद्ध नरहेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस