सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षापछि कैलालीका नदीमा पानीको वहाव बढ्यो, भजनी जलमग्न

२०७९ असार ११, ०२:५२ खबर संवाददाता

धनगढीः कैलालीको भजनी नगरपालिकाको केही भूभाग जलमग्न बनेका छन्। आज विहान केहीबेर वर्षा भएपछि नगरको केही क्षेत्र जलमग्न भएका हुन्। पानीको उचित निकास नहुँदा सामान्य वर्षाले नै जलमग्न बनाएको स्थानीयले बताएका छन्। 

आज कैलालीको मध्यपूर्वी क्षेत्रमा वर्षा भएको थियो। करिब डेढ घण्टा भएको वर्षाका कारण भजनी नगरपालिकाको –१ र ३ को भूभाग जलमग्न भएको स्थानीय खेम पाण्डेयले जानकारी दिए। पानी निकासका लागि नाली नभएका कारण खेतमा पानी जमेको उनको भनाई छ। 

कैलालीमा सबैभन्दा बढी भजनी नगरपालिका क्षेत्रमा डुबान हुँदै आएको छ। भजनीमा हरेक वर्ष डुबान समस्या हुँदा स्थानीयहरु पीडित हुँदै आएका छन्।पहिलो दिन विहान मात्रै वर्षा भएपछि खुटिया र काँढा नदीमा बाढी आएको छ। लामो सुख्खाका कारण दुवै नदीमा पानी सुकेको थियो। नेपालको पूर्वी र मध्ये क्षेत्रमा मनसुन सक्रिय भएपनि सुदूरपश्चिममा अझै मनसुन सक्रिय भएको छैन।

मनसुनको लामो पर्खाइका कारण अधिकांश कृषकहरुले अझसम्म रोपाइको काम शुरु गर्न सकेका छैनन्। आज विहान परेको हल्का वर्षाले त्यस क्षेत्रका कृषकलाई राहत भएको स्थानीय कृषकहरुको भनाई छ। 

कमेन्ट लोड गर्नुस