धनगढीबाट कांग्रेसले भन्यो : कम्युनिष्ट सरकारको उपहार हत्या र हिंसा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज सुदूरपश्चिममा पनि प्रदर्शन गरेको छ। काँग्रेसले केन्द्रीय कमिटिको निर्देशन अनुसार सरकार विरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित नौ वटै जिल्लामा विरोध ¥याली सहित प्रर्दशन गरेको हो।निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा विद्येयक, वाइवडी विमान खरिद काण्ड, सरकार बहुमतका नाममा संसदीय विधि र पद्धती विपरीत चलेको लगायतका विषयमा विरोध जनाउदै काँग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको हो।
सोही क्रममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको चौराहदेखी एलएन चौक सम्म विरोध ¥याली निकाल्दै विरोध सहित काँग्रेसले शक्ति प्रर्दशन गरेको छ। प्रदर्शनका लागि कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट ठुलो संख्यामा काँग्रेस नेता कार्यकर्ता धनगढी पुगेका थिए।
प्रर्दशन पछि एलएन चौकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारीले डाक्टर गोविन्द केसी अनसनमा रहेका बेला दुई तिहाईको आडमा सरकारले चिकित्सा शिक्षा विद्येयक पास गरेर संसदीय विधि र प्रक्रिया मिचेको बताए। बहुमतको आडमा कम्युनिष्ट सरकारले अधिनायकवाद लादेर जनतालाई दुःख दिने काम गरेको आरोप नेता भण्डारीले लगाए। कांग्रेस संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा जनतालाई मार्ने काम गरेको आरोप लगाए। दुई तिहाइको सरकारले नेपाली जनतालाई हत्या र हिंसाको उपहार दिनु बाहेक केही नगरेको रावलले बताए। कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको हत्यामा दोषिलाई बचाउन प्रमाण नष्ट गर्न सरकार लागी परेको आरोप समेत काँग्रेसले दोहो¥याएको छ।
नेता रावलले सीमा अतिक्रमणका विषयमा मौन बसेको सरकारले कुटनितिक हिसाबले बेलायत पछिको देश अमेरिका विरुद्ध नेकपाका अध्यक्षले कुटनीतिक मर्यादा विपरीत तर्क दिएर वेइमानी गरेको आरोप समेत लगाए। उनले यसले नेपालीको शिर झुकाएको भन्दै खबरदार केपी सरकार, तिमी नेपालीको छोरी हो की हैन ? भन्ने प्रश्न गर्ने बेला आएको बताए। कोणसभालाई सम्बोधन गरेका काँग्रेस नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले केपी शर्मा ओलीले उखान टुक्काको भुलभुलैयामा जनतालाई राखेको तर्क गरे।
चौधरीले सरकारले कानुन र विधिको उपहास गरेको बताए। दुई तिहाईको सरकारबाट जनताले आर्थिक समृद्धिको आशा गरे पनि महंगी र कर बढाएर जनतालाई मारमा पारेको बताए। सरकारले धार्मिक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको खिल्ली उडाउदै सरकारले अधिनायकवाद लादेको आरोप समेत चौधरीको थियो। सभालाई सम्बोधन गर्ने क्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडले काँग्रेसले नेतृत्व गरिरहेका स्थानीय सरकार चेपुवामा परेको बताए।
धनगढी उपमहानगरपालिकामा आठ महिनामा पाँच जना प्रमुख प्रशासकिय अधिकृत परिवर्तन गरिहेको प्रसंग उल्लेख गर्दै मेयर ओडले काँग्रेसले बहुमत ल्याएका स्थानीय सरकारमा कर्मचारीहरुको विकृत अवस्था सिर्जना गरेको गुनासो गरे । योजना छनौट गर्दा झ्यालबाट योजना हालेको व्यङ्ग गरे।