सुदूरपश्चिममै पहिलो पटक धनगढीमा सार्वजनिक भयो प्रोटोनको नयाँ ई–मास ५, मूल्य २९.९९ लाख रुपैयाँबाट सुरु
धनगढी: प्रोटोन ले आफ्नो नयाँ विद्युतीय कार ई–मास ५ (e.MAS 5) सुदूरपश्चिममै पहिलो पटक धनगढीबाट सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालि ले आइतबार धनगढीमा आयोजित विशेष कार्यक्रममा नयाँ ईभी सार्वजनिक गरेको हो।
कम्पनीले ई–मास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा नेपाली बजारमा ल्याएको छ। प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि नेपाली बजारमा ई–मास ७ सार्वजनिक गरिसकेको कम्पनीले यसपटक रियर ह्वील ड्राइभ (RWD) प्रणालीमा आधारित ई–मास ५ बजारमा उतारेको हो।
ब्याट्री र रेन्जका हिसाबले प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–आवर (kWh) क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट–आवर (kWh) क्षमताको ब्याट्री रहेको छ, जसले ३२५ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने बताइएको छ।
मोटर क्षमतातर्फ प्राइममा ५८ किलोवाट र प्रिमियममा ८५ किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले शक्तिशाली, सहज र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ।
ई–मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिफङ्सनल स्टेयरिङ ह्वील, ५० वाट वायरलेस फोन चार्जर, एम्बियन्ट लाइटिङ, किलेस इन्ट्री लगायतका आधुनिक सुविधा उपलब्ध छन्। सुरक्षातर्फ ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) तथा ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुरक्षा फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
प्रोटोन ई–मास ५ ले मलेसियाको प्रतिष्ठित ‘भेइकल अफ द इयर अवार्ड–२०२६’ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर’ उपाधि समेत जितिसकेको कम्पनीले जनाएको छ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी रानाले सुदूरपश्चिममै पहिलो पटक यस्तो आधुनिक विद्युतीय सवारी धनगढीमा सार्वजनिक हुनु प्रदेशका लागि सकारात्मक सुरुआत भएको बताइन्। उनले विद्युतीय
सवारीको प्रयोग बढेसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने र न्युन मूल्यका कारण सुदूरपश्चिममा पनि ईभीको माग उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरिन्।
कम्पनीका अनुसार आकर्षक मूल्य, आधुनिक प्रविधि, पर्याप्त रेन्ज, उन्नत सुरक्षा सुविधा र वातावरणमैत्री विशेषताका कारण सार्वजनिक भएकै दिन ई–मास ५ प्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको छ। कार्यक्रममा सहभागी केही ग्राहकले सोही दिन गाडी खरिदसमेत गरेका छन्।
प्रोटोनको नयाँ ई–मास ५ नेपाली विद्युतीय सवारी बजारमा सुलभ मूल्य, आधुनिक प्रविधि र सुरक्षा सुविधासहित प्रतिस्पर्धी विकल्पका रूपमा स्थापित हुने बिश्वास कम्पनीले गरेको छ ।