कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन
काठमाडौँ: भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ।
उक्त भवनको आज नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरे।
दूतावासले सञ्चालन गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुने उक्त भवन कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। परियोजनामार्फत कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। भवन निर्माणमा रु एक करोड नौ लाख खर्च हुनेछ।
भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरे। उनले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।