सुदूरपश्चिममा एमाले र नेकपा सहकार्य गर्ने, खगराज भट्ट मुख्यमन्त्री बन्दै
धनगढी: सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट बन्ने चर्चा तीव्र बनेको छ। एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका लागि भएको सहमतिपछि भट्ट नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बलियो भएको हो।
शनिबार दुवै दलका शीर्ष नेतृत्वबीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने समझदारी भएको छ। यही सहमतिसँगै खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना उच्च भएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
भट्ट यसअघि २०७९ सालको प्रदेशसभा निर्वाचनपछि पनि मुख्यमन्त्रीका बलिया दाबेदार मानिएका थिए। तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रदेशसभा पुगेका उनलाई मुख्यमन्त्री बनाइने चर्चा व्यापक थियो। तर केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै उनी उक्त अवसरबाट वञ्चित भएका थिए। त्यसबेला उनी बिना विभागीय मन्त्रीमा नियुक्त भए पनि कुनै मन्त्रालयको जिम्मेवारी सम्हाल्न नपाउँदै सरकार परिवर्तन भएपछि पदबाट बाहिरिएका थिए।
त्यसयता उनले विभिन्न सार्वजनिक कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने अपेक्षासहित प्रदेश राजनीतिमा आएको भए पनि राजनीतिक परिस्थितिका कारण अवसर गुमाउनुपरेको बताएका थिए। पछि दलभित्र नेतृत्व परिवर्तनको विवादसमेत सामना गरेका भट्ट अन्ततः पुनः संसदीय दलको नेतामा फर्किएका थिए।
यता वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि दलहरूबीच निरन्तर छलफल भइरहेको थियो। पछिल्लो एमाले–नेकपा सहमतिले सुदूरपश्चिममा नयाँ सत्ता समीकरणको आधार तयार पारेको छ।
यद्यपि, संवैधानिक प्रक्रिया पूरा भई प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि नबढेसम्म खगराज भट्ट मुख्यमन्त्री नियुक्त भइसकेका छैनन्। तर पछिल्लो राजनीतिक सहमतिका आधारमा उनी सुदूरपश्चिम प्रदेशको आगामी मुख्यमन्त्री बन्ने सम्भावना अत्यन्त बलियो बनेको विश्लेषण गरिएको छ।