सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको लामितालका रुख सुकाउन नगरपालिका नै लाखौं खर्च गर्दै

२०७८ फाल्गुन ३, ०५:२५ कमल सावद

धनगढीः कैलालीको अत्तरियामा रहेको लामितालको पानीले दुर्गालक्ष्मी सामुदायिक वनका रुख सखाप पारेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन क्षेत्रमा कृत्रिम ताल निर्माण गरिएपछि त्यहाँका सयौं रुख सुकेका छन्। अत्तरिया बजार र पूर्वपश्चिम राजमार्गसँग जोडिएको वन क्षेत्रमा दर्जनौ संघ/संस्थाले भौतिक संरचना निर्माण गरेका बेला कृत्रिम तालको पानीले रुख सुकाएको छ। स्थानीय धनराज जोशीका अनुसार ताल क्षेत्रबाट सयौं रुख गायबसमेत पारिएका छन्। ‘वनमा ताल बनाउन आवश्यक थिएन। तालको पानीले सयौं रुख सुकाएको छ। कृत्रिम ताल बनाएर नगरपालिकाले रुख सुकाएको हो’, जोशीले भने। 

अत्तरियाको लामितालको पानीले वनका रुख सुकाएको पाइएको भन्दै स्थानीयले बिरोध समेत गरेका छन्। एक सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको दुर्गालक्ष्मी सामुदायिक वनमा नगरपालिकाले झण्डै तीन बिघा क्षेत्रफलमा कृत्रिम तालहरु बनाएको हो। तालमा पानी भर्न डिप बोरिङ समेत गाडिएको छ। सामुदायिक वनमा संघ संस्थाका भौतिक संरचना निर्माण गरिएका बेला तालसम्म जाने सडक, डिप बोरिङ र तालको पानीले पनि वन क्षेत्र नोक्सान भएको स्थानीय ललित बोहराले बताए। उनले भने, ‘ताल क्षेत्रमा भौतिक संरचना निर्माणमा नगरपालिकाले लाखौं रकम खर्च गरेको छ। तर तालबाट नगरपालिकाले नाफा लिन सकेको छैन। नगरपालिकाले ड्याम निर्माण गरेर रुखहरु सुकाएको छ।’ 

नगरपालिकाले १० लाख डिप बोरिङ्ग निर्माण र १२ लाख माटो भरान तथा ड्याम निर्माणमा खर्च गरेको छ। चालु आर्थिक वर्षमा १० लाख पर्यटन बोर्डबाट पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको थियो। वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीका अनुसार चालु आर्थिक वर्षमा पनि पर्यटन बोर्डबाट रकम विनियोजन गरिएको छ। उनले भने, ‘लामिताल नगरपालिकाको बजेटमा बनाएका हौं। वडाले पनि बजेट विनियोजन गरेको छ।’

दुर्गालक्ष्मी महिला सामुदायिक वन अतिक्रमणको चपेटामा परेका बेला वन कर्मचारीहरु भने पुगेका छैनन्। चौतर्फी रुपमा वन सखाप पर्न खोजिएपनि वनका कर्मचारीले बेवास्ता गरेका छन्। सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले लामीताल क्षेत्रमा आफू नगएको बताए। उनले भने, ‘तालको पानीले रुख सुकाएको मलाई जानकारी छैन। उक्त क्षेत्रमा म गएको छैन अब जान्छु।’

सामुदायिक वन क्षेत्रको अतिक्रमण खाली गराउनु स्थानीय तहको पनि दाहित्व हो। तर दुर्गालक्ष्मी सामुदायिक वनमा चारै तिरबाट अतिक्रमण हुँदै आएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस