सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रममा “कपी–पेस्ट” !

२०७८ जेठ २९, ०७:४१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा “सेती र महाकाली प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा विकास गरिने छ,” भनिएको छ। तत्कालीन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सभामा सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रमको १४३ बुँदामा सो कार्यक्रम राखिएको छ। 

उक्त शिर्षकको कार्यक्रम आगामी आर्थिक वर्षमा समेत समावेश गरिएको छ। आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा टीकापुर अस्पताल थपिएको छ। बाँकी शब्द समेत परिवर्तन गरिएको छैन। जेठ २७ गते प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभामा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३६ मा उक्त कार्यक्रमको शिर्षक राखिएको हो।

“सेती, महाकाली र टीकापुर अस्पताललाई विशिष्टीकृत सेवा सेवा दिने अस्पतालका रुपमा विकास गरिनुका साथै कोरोना संक्रमणका लागि आईसीयू, भेन्टिलेटरसहितको छुटै वार्ड स्थापना गरिने छ,” भनिएको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा समावेश भएका अधिकांश कार्यक्रमहरु आगामी आर्थिक वर्षमा समेत समावेश गरेको छ। चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएकोमा आगामी आर्थिक वर्षमा भने सवै अस्पतालहरुलाई साधन स्रोत सम्पन्न बनाइने छ, मात्र भनिएको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमकमा पिछडिएका, अतिविपन्न, असहाय, सीमान्तकृत, लोपोन्मुख र जोखिममा रहेका राजी, राउटे, बादीजस्ता वर्गको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ भनिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा समेत सो  कुराहरु राखिएका छन्।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको १७९ मा मुख्य नदीहरुको नदी बेसिन गुरुयोजना निर्माण गरी पानीको प्रयोग गर्ने नीति अवलम्ब गरिने छ भनिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत त्यो कुराले स्थान पाएको छ। गुरुयोजनाको ठाउँमा मात्र नयाँ तथा उपयुक्त प्रविधिको पहिचान, विकास र विस्तारमा जोड दिने भनिएको छ। अन्य शब्दहरु “कपी–पेस्ट” गरिएको छ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा प्रदेशको अधिकार क्षेत्रमा रहेका जलविद्युत आयोजनालाई प्रदेशले आफै वा साझेदारीमा सञ्चालन गरिने भनिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको १८५ मा समेत सो कार्यक्रम समावेश भएको छ। तर चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका महत्वपूर्ण कार्यक्रमहरुलाई भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको पाइएको छैन्। 

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमा समावेश भएका बुँदा तथा कार्यक्रमहरु चालु आर्थिक वर्षमा समेत सार्वजनिक गरेको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक वर्ष २०७७/०७८ का कार्यक्रमहरु कपि–पेस्ट गरिएको पाइएका हुन्। 

नीति तथा कार्यक्रम “टालटुल” पार्न र “कर्मकाण्डी” सार्वजनिक गरिएको प्रतिपक्ष दलहरुले टिप्पणी गरिरहेका बेला नयाँ कार्यक्रममा पुराना कुराहरु समावेश गरिएको पाइएको हो। चालु आर्थिक वर्षमा सम्पन्न नभएका कार्यक्रहरुलाई समेत आगामी आर्थिक वर्षको कार्यक्रममा राखिएको छ। 

चालु आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम

सम्बन्धित समाचारहरुः

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)

सुदूरपश्चिम सरकारले 'टालटुले' नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रतिपक्ष दलको आरोप

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा ११ उपलब्धिः अधिकांश अधुरै, ‘हस्तान्तरित’ घर बन्नै बाँकी

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा गलत तथ्याङ्क समावेश, सम्पन्न भन्दै अधुरा योजना देखाइयो

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक: अधिकांश पूरानै कार्यक्रम

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस