सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक: अधिकांश पूरानै कार्यक्रम

२०७६ जेठ १९, ०६:२२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालु खर्चलाई घटाउदै पँुजीगत खर्च बृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने लक्ष्य सहित प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम पेश गरेका हुन्। अधिकांश पूरानै कार्यक्रमलाई निरन्न्तरता दिएर ल्याईएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ।  

नीति तथा कार्यक्रममा प्रदेश सरकारले सामाजिक असमानता हटाउन विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा अघी सारेको छ। प्रदेशलाई आउँदो तीन वर्षमा पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रदेशका नौ वटै जिल्लामा मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारले एक व्यक्ति एक खाता, मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउ, एक घर एक तालिम प्राप्त व्यक्ति, एक स्थानीय तह एक औद्योगिक उत्पादन, एक जिल्ला एक नमुना शहर, एक निर्वाचन क्षेत्र एक खेल मैदान लगायतका महत्वकांक्षी कार्यक्रम समेत ल्याएको छ। 

महाकाली अञ्चल र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने जनाएको छ भने फाप्लामा बहुउपयोगी अन्तराष्ट्रिय खेल मैदान निर्माण गरिने जनाईएको छ। बजेट वितरणमा समेत भौगोलिक विकटता र मानव विकास सुचकांकलाई आधार मानिने तथा आर्थिक बृद्धि हुने खालका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। प्रदेशमा व्याप्त महिला हिंसा, छाउपडी प्रथा लगायतका कुरिती निरुत्साहित गर्न पनि विशेष खालका कार्यक्रम सञ्चालन गरिने भनिएको छ भने विपन्न तथा पिछडिएका समुदायलाई सम्बोधन गर्ने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ।

यस्तै निवृत्त खेलाडी कल्याणकारी कोष, वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न सहुलियत दरमा क्रण उपलब्ध गराउने तथा भारतमा रोजगारी गर्दै आएकाहरुको विमा गर्ने योजना समेत अगाडी सारेको छ। प्रदेश सरकारले दुर दृष्टि नपुगाई अगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको प्रतिपक्षी दल नेपाली कांग्रेसले टिप्पणी गरेको छ। कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले दुर दृष्टि नपुगाई नीति कार्यक्रम ल्याएको टिप्पणी गरे। 

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम

 

कमेन्ट लोड गर्नुस