सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रममा गलत तथ्याङ्क समावेश, सम्पन्न भन्दै अधुरा योजना देखाइयो

२०७८ जेठ २९, ०७:४७ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा सीसीटिभी क्यामेरा खरिद तथा जडान कार्यक्रमका लागि २ करोड २ लाख ५० हजार रकम विनियोजन गरेको छ। 

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमासम्म सीसीटिभी क्यामेरा जडान गर्ने योजना छ। प्रदेशको कानून मन्त्रालय स्रोतका अनुसार सीसीटिभी क्यामेरा जडानको काम सकिएको छैन। तर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा १ सय ३८ वटा सीसीटिभी क्यामेरा जडान भएको उल्लेख गरेको छ। 

यो एक उदाहरण मात्र हो। सुदूरपश्चिम प्रदेश सरकारले बिहिवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गलत तथ्याँक सार्वजनिक गरिएको हो। प्रदेश सरकारले दार्चुला जिल्लाको ब्याँस गाउँपालिकामा ‘ब्याँस गाउँपालिका विशेष कार्यक्रम’ सञ्चालन गरेको थियो।

कार्यक्रम अन्तरगत टिंकर छाङरुमा खाद्यन्न ढुवानी, टिंकर स्वास्थ्य चौकी, प्राङगरिक आलु उत्पादन, छाङरुमा वडा कार्यालय भवन, छाङरु–सुनसेरा छाङरु कालापानी घोडेटो बाटो निर्माण तथा छाङरु स्वास्थ्य चौकी मर्मतलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको भनेर नीति तथा कार्यक्रममा समावेश गरेको छ। तर ती सबै कार्यक्रमहरु हालसम्म अधुरै रहेका ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले बताए। उनका अनुसार चामल ढुवानी बाहेकका काम नभएका हुन्। उनले भने, “चामल ढुवानी भएको हो। तर अरु काम सकिएको छैन। काम जारी छन्।”

नीति तथा कार्यक्रममा मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम अन्तरगत ६५ घर तथा जनता आवास कार्यक्रम अन्तरगत ५ सय ३० घर निर्माण गरी हस्तान्तरण गरिएको दाबी गरिएको छ। हालसम्म ती कार्यक्रम अन्तरगतका काम अधुरै रहेको पाइएको छ। कैलालीको भजनी नगरपालिका ९ भुरुवास्थित राजी वस्तीमा मुख्यमनत्री जनता आवास कार्यक्रम सञ्चालन गरिएको छ। तर हस्तान्तरणको त कुरै छोडौं हालसम्म १ घर पनि निर्माण सम्पन्न नभएको पाइएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र बझाङ अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उल्लेख गरिएको छ। तर संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले संघीयर सरकारकै ४ करोडको लगानीमा अक्सिजन प्लान्ट जडान गरिएको हो।

प्रदेश सरकारले २० लाख दिने भनेपनि अझै दिएको छैन। डडेल्धुरा अस्पतालका मेडिकल मेसु डाक्टर जगदिश विष्टले डडेल्धुरामा संघीय सरकारको बजेटमा अक्सिजन प्लान्ट जडान गरिएको बताए। उनले भने, “प्रदेश सरकारले २० लाख दिने भनेको थियो, दिएको छैन। संघीय सरकारबाट आएको ४ करोडमा प्लान्ट जडान गरेका हौ। प्रदेश सरकारले पनि दिन्छ होला।” 

प्रदेश सरकारले महामारीबाट प्रभावित तथा विदेशबाट फर्किएका ५ हजार युवाहरुलाई कृषि तथा पशुपालनका लागि प्रतियुवा अधिकतम ६० हजारसम्म स्वरोजगारका लागि अनुदान दिइएको छ भनेर आफ्नो उपलब्धिमा राखेको छ। तर हालसम्म कार्यान्वयनकै चरणमा रहेको छ। कार्यक्रम प्रभावहीन भएपछि कार्यक्रम अन्तरगतको झण्डै आधा रकम फ्रिज जाने सम्भावना देखिएको छ। 
    


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस