सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट सुरु, २९०० खेलाडी र प्रशिक्षक सहभागी

२०८३ कार्तिक २८, ०३:०२ खबर संवाददाता

धनगढीः कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले खेलाडी छनोट सुरु गरेको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिता शनिबारदेखि सुरु भएको हो।

धनगढी रंगशालामा मुख्यमन्त्री खगराज भट्टले छनोट प्रतियोगिताको उद्घाटन गरेका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलमध्ये सुदूरपश्चिमले ३० खेलमा सहभागिता जनाउने तयारी गरेको छ।

छनोट प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा सञ्चालन भइरहेको छ। मंसिर १ गतेसम्म चल्ने छनोट प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाबाट खेलाडी तथा प्रशिक्षक गरी २९ सय जना सहभागी भएका छन्। छनोटबाट करिब ७५० खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले सीमित स्रोतसाधनका बाबजुद सुदूरपश्चिममा प्रतिभाशाली खेलाडी उत्पादन हुनु प्रदेशका लागि गौरवको विषय भएको बताए। खेलाडीको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई उचित अवसर र मार्गदर्शन प्रदान गर्ने तथा खेलकुद क्षेत्रका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको मुख्यमन्त्री भट्टले बताए।

कमेन्ट लोड गर्नुस