सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलः लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदै

२०८३ कार्तिक २८, ०८:०२ खबर संवाददाता

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शनिबार लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे हुने खेलमा लुम्बिनी लगातार राम्रो प्रदर्शन गर्दै शीर्ष स्थानमा रहने लक्ष्यमा हुनेछ भने विराटनगर प्लेअफको सम्भावना बलियो बनाउने योजनासहित मैदान उत्रनेछ।

लुम्बिनीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। विराटनगरका लागि भने यो खेल निकै महत्त्वपूर्ण छ। लिग चरणको अन्तिमतिर आइपुग्दा विराटनगरलाई जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्नुपर्ने दबाब छ।

दुवै टोलीको यस संस्करणको प्रदर्शन र आपसी प्रतिस्पर्धाको इतिहास हेर्दा लुम्बिनी केही बलियो देखिन्छ। तर विराटनगरले पछिल्ला खेलमा लय समातेकाले शनिबारको भिडन्त सहज हुने छैन।
लुम्बिनीले यस संस्करणमा अहिलेसम्म खेलेका ६ खेलमध्ये ४ खेलमा जित निकालेको छ।

एक खेलमा पराजित भएको लुम्बिनीको चितवन राईनोजसँगको खेल भने वर्षाका कारण नतिजाविहीन भएको थियो। लुम्बिनीले प्रतियोगिताको उद्घाटन खेलमै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । त्यसपछि चितवनसँगको खेलमा वर्षाका कारण दुवै टोलीले अंक बाँडे।

तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको लुम्बिनीले चौथो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित ग¥यो। तर पाँचौँ खेलमा काठमाण्डु गोर्खाजसँग ३६ रनले पराजित भयो। त्यसपछि पुनरागमन गरेको लुम्बिनीले बिहीबार कर्णाली याक्सलाई ४ विकेटले हरायो।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो। ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। 

कमेन्ट लोड गर्नुस