सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले 'टालटुले' नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रतिपक्ष दलको आरोप

२०७८ जेठ २७, ०७:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले 'टालटुले' नीति तथा कार्यक्रम सार्वजनिक गरेको प्रतिपक्ष दलहरुले आरोप लगाएको छ।

बिहीवार सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम 'टालटुले' देखिएको प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए। 

उनले भने, ‘नीति तथा कार्यक्रम पहिलै दिएनन्। अध्ययन गर्न पाएको छैन्। तर प्रदेश सभामा सुनिएको नीति तथा कार्यक्रम 'टालटुले' र 'कर्मकाण्डी' छ।’ उनले कार्यक्रमा पुरानै प्रवृति दोहोरीएको बताए।  

प्रदेश सरकारले गृहकार्य विना नीति तथा कार्यक्रम सार्वजनिक गरेको रावलले बताए। कम समयमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाले पनि पुराना कार्यक्रमहरु दोहोरिएको हुनसक्ने उनले बताएका छन्। 

नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य लिलाधर भट्टले प्रदेश सरकारले परम्परागत नीति तथा कार्यक्रम ल्याएको बताए। उनले पहिलेका वर्षहरुमा रहेका कार्यक्रमहरुलाई मात्र नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताए।

उनले भने, ‘जनताले राहत पाउने भन्दापनि परमपराका कुरा बढी देखिन्छन्। त्यहि पर्यटनका कुरा, त्यहि तटबन्धनका कुरा मात्र नीति तथा कार्यक्रममा राखिएका छन्। बजेट पनि यस्तै आउने हो।’

सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम बिहीवार प्रदेश सभामा सार्वजनिक गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस