सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको उडान: विश्वसँग जोडिँदै सुदूरपश्चिम नेपाल

दिनेशखबर वार्षिकोत्सव विशेष 

। फोटो स्रोत ।
२०७७ फाल्गुन ११, ०५:१० आशिष मल्ल

२०५८ साल जेठ २० गते। डडेल्धुरामा रहेको हाम्रो घरमा एउटा रेडियो थियो। जसमा बिहानैदेखि राष्ट्रिय तथा दुःखी तुल्याउने विरह गीतहरु बजिहेका थिए। सधैजसो विभिन्न कार्यक्रम तथा समाचार नआएपछि मसहित परिवारका सबैजना अचम्मित पर्नु स्वभाविक थियो। 

'आज यो रेडियोलाई के भएछ ?’ त्यसदिन हजुरबुवाले बेलाबेलामा भनिरहेको मलाई अझै पनि याद छ। त्यसदिन बल्ल साँझपख मात्रै थाहा भयो जेठ १९ गते राति राजधानी काठमाडौँमा नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंश नाश हुनेगरी ठूलो हत्याकाण्ड घटेको रहेछ। त्यो खबर हामीले अर्को दिन साँझतिर मात्र थाहा पायौँ। तर म ९ वर्षे बालकले हत्याकाण्ड र रेडियोमा बजिरहेको ‘तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ...’ भन्ने गीतलाई हल्का रूपमा लिएँ।

रेडियो, टीभी युग

उसो त त्यतिबेला नै देशमा प्रविधि तथा सञ्चारको विकासको सुरुवात भइरहेको थियो। तर सुदूर पश्चिम नेपाल राजधानीबाट साच्चिकै दूर नै लाग्दथ्यो। कर्णाली पुलले बाँकी नेपालसँग जोडेको सुदूरलाई पूर्व-पश्चिम राजमार्गले जोडेको त थियो तरपनि भौतिक रूपमा यो प्रदेश मध्य वा पूर्वी नेपालसँग टाढै थियो। नेपालमा रेडियोको सुरुवात २००७ साल र टेलिभिजनको सुरुवात २०४२ सालबाट भएको पाइएपनि मलाई याद भएको समय (२०५५ सालतिर) देश र विदेशमा भइरहेका गतिविधिबारे जानकारी पाउन सुदूर पहाडवासीले धेरै समय कुर्नुपर्ने बाध्यता थियो। 

मलाई याद छ म ४ वर्षको हुँदा पहिलोपटक टेलिभिजन हेरेको थिएँ। छिमेकको एक घरमा ‘भीसीआर’(भिडियो क्यासेट रेकर्डर) थियो, जसलाई डेक पनि भनिन्थ्यो। कुनै नयाँ चलचित्र आयो भने हामी सबै शनिबार राति त्यहि घरमा फिल्म हेर्न जान्थ्यौँ र खुबै रमाउँथ्यौँ। त्यहि छिमेकीको घरमा पहिलोपटक मैले हिन्दी फिल्म ‘बोर्डर’ हेर्ने मौका पाएको थिएँ। 

डडेल्धुराको सदरमुकाम भएर होला त्यस क्षेत्रका केही घरमा टेलिभिजन भित्रिएका थिए। धेरैजसोका घरमा रेडियो थिए। केही घरमा ल्यान्डलाइन टेलिफोन समेत थिए। म अझ सानो हुँदा खबर आदानप्रदान गर्न चिठ्ठीको सहारा लिने गरिन्थ्यो। तर त्यो चिठ्ठी पनि प्रेषककहाँबाट प्रापककहाँ पुग्न कैयौँ दिन लाग्दथ्यो। 


सूचना प्रविधिमा फड्को

बिस्तारै नयाँ नयाँ टीभी स्टेशनसँगै एफएम रेडियोहरू खुल्न थाले। त्यहीबेला सुदूरपश्चिमले सूचना प्रविधिमा पनि क्रमिक रूपमा फड्को मार्न थाल्यो। तत्कालिन माओवादी सशस्त्र विद्रोह बेलाका खबर हामीले थाहा पाउने माध्यम रेडियो र टेलिभिजन नै थिए। सरकार पक्ष र विद्रोही पक्षका लडाकू मारिएका खबरहरुले हाम्रो मनोविज्ञानमा खलल पुर्‍याउँन थालेको थियो। घरमा सबैजनाको कुराकानीको विषय उही हुन्थ्यो-“आज त त्यहाँ भिडन्त भएछ। यति जना माओवादी, प्रहरी वा सैनिक मारिए रे !” 

त्यस्ता समाचार सुन्दा कतै हामी पनि मारिने त हैनौँ भनेर चिन्ता लागिरहन्थ्यो। डडेल्धुरा सदरमुकाममैँ अमरगढी किल्ला थियो, त्यहाँ तत्कालिन शाही सेना बस्थे। सोही किल्लामा हरेक राति माओवादीहरुले आक्रमणको प्रयास गर्थे। किल्ला र त्यसको सामुन्ने रहेको डाँडाबाट हुने ‘फायरिङ’को चपेटामा हामी बीचमा रहेका घरवाला पर्दथ्यौं। कति दिन त हामी खाट मुनि गएर सुतेका थियौं।

त्यसपछि २०६२-६३को जनआन्दोलनले देशभर तरङ्ग ल्याउँन थाल्यो। त्यतिबेलासम्म एफएमसँगै लगभग सबैको घरमा टेलिभिजन आइसकेका थिए। स्पष्ट आवाजमा गीत संगीत तथा समाचार सुनाउने एफएम रेडियोको संख्या पनि बढिसकेको थियो। हामी प्रत्येक पलपलका खबर एफएमबाट सुन्थ्यौँ वा टिभीमा हेर्थ्यौँ। जनआन्दोलनको प्रभावका कारण पूर्वराजा ज्ञानेन्द्रले आफ्नो राजगद्दी छाड्न देशवासीका नामामा गरेको त्यो अन्तिम सम्बोधन हामीले टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणमा हेरेका थियौं।

मोबाइल युगमा प्रवेश

मैरै एसएलसी पास गरेको साल २०६४ सम्म डडेल्धुराका केही व्यक्तिसँग मात्र मोबाइल फोन थियो। जसमा सीडीएमए प्रविधिको स्काईको सिम लाग्थ्यो। इन्टरनेट चलाउन हामी बागबजामा रहेको साइबर क्याफे तथा घर नजिकै रहेको एउटा ‘एनजीओ’मा जान्थ्यौं। त्यतिबेला अहिलेको जस्तो सामाजिक सञ्जाल ‘फेसबुक’ आइसकेको थिएन। हामी ‘याहु म्यासेन्जर’ चलाउँथ्यौं। त्यसैबाट टाढाका आफन्त वा नयाँ नयाँ साथीहरूसँग च्याट गर्दथ्यौँ।  

कक्षा १२ मा अध्ययनरत हुँदा मैलै पहिलोपटक मोबाइल चलाउने मौका पाएको थिएँ। त्योभन्दा अघि मेरा साथीहरुको मोबाइल खेलाएर मैले आफ्नो रहर पूरा गरेको थिएँ। मोबाइल हातमा समात्दा पनि खुबै हौसिने मैले एक दिन मोबाइल फोन किनेँ। मलाई मोबाइल किनेको दिन रातभर निन्द्रा लागेन। म बेलाबेला उठेर मोबाइन हेर्थेँ र फेरि राख्थे। अनि फेरि मोबाइल हेर्थेँ :)

नेपाल टेलिकमको सिम लाग्ने मेरो चाइनिज मोबाइल गीतले भरिएको थियो। म एक १८ वर्षीय डडेल्धुरी ठिटो। म सहित मेरा साथीहरु क्याम्पस बिदा भएपछि चर्को आवाजमा गीत बजाउँदै सबैलाई गीत सुनाउँदै घर फकिन्थ्यौँ। र, बेलाबेला एकअर्कालाई मोबाइलमा ‘मिस्डकल’ पनि  हान्थ्यौं। यतिसम्मकी आफ्नो मोबाइलको ‘रिङटोन’ सुनाउन कक्षाकोठामा समेत फोन आइदिए राम्रो मान्थ्यौं। 

फेसबुक युगमा पदार्पण

मोबाइल पाएको १ वर्षअघि २०६६ सालमा मैले फेसबुक खाता खोलिसकेको थिएँ। तर इन्टरनेट भएको स्थानमा मात्रै आफ्नो फेसबुक खोल्ने मौका पाउथेँ। त्यो बेला अनलाइन मिडियाको चलन नचलिसकेकाले फेसबुकमा हिजोआजको जस्तै समाचारका लिङ्कहरु आउँदैनथे। त्यतिबेला बस् फोटो पोस्ट गर्ने र साथीहरुसँग कुराकानी गर्न मात्रै फेसबुक प्रयोगमा आउँथ्यो। 

१० वर्ष मात्रै बितेको छ मैले फेसबुक युगमा हामफालेको। त्यो समय र आजको समयमा आकास पातालको फरक भइसकेको छ। अहिले सामाजिक सञ्जालका अन्य माध्यमहरू पनि आइसके। इन्टाग्राम, ट्वीटर, टिकटक अनि कुरा गर्नका लागि भाइबर, ह्वाट्स्एयाप इत्यादी। अहिले संसारभरिका सूचना पाउन हामीले टेलिभिजन र रेडियो खोलेर कुरेर बसिरहनु पर्दैन। इन्टरनेटका सामाजिक सञ्जालबाटै हाम्रो सूचना र समाचारको भोक मेटिन थालेको छ। 

तर सामाजिक सञ्जालमा ‘फेक न्यूज’ अर्थात मिथ्या वा झूटा सूचना समाचार र भिडियाेको बाढी पनि बढ्न थालेको छ। त्यसले समाजमा सही सूचना र समाचारको सट्टा अफवाह फैलाएर नयाँ नयाँ चुनौती थपिदिइरहेको छ।

अहिले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा नेपाल टेलिकमले ‘फोरजी’ मार्फत (द्रुत गतिको इन्टरनेट) सेवा बिस्तार गरिसकेको छ। द्रुत गतिको इन्टरनेट सेवा विस्तारका लागि सुदूरपश्चिमका २ सय वटा टावरमा वीटीएस र ईनोटपी जडान गरिएको छ। नेपाल दुर सञ्चार प्रधिकरणले विभिन्न इन्टरनेट प्रदायक संस्थाहरुमार्फत सुदूरपश्चिमका सम्पूर्ण वडाहरुमा ब्रोडब्याण्ड सेवा उपलब्ध गराइसकेको छ।

‘फाइभजी’ युगको उदय

नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको अवस्थामा सुदूरपश्चिमको झण्डै ३० लाख जनसंख्या मध्ये १० लाख ४० हजार ६ सय ६२ मा इन्टरनेटको पहुँच पुगेको नेपाल दूरसञ्चार प्राधिकरण प्रादेशिक निर्देशानालय अत्तरियाले जानएको छ। यस्तै अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले समेत प्रदेशका विभिन्न स्थानहरुमा सेवा बिस्तार गरेका छन्। 

अब सुदूरका स्थानीय अत्यावश्यक कुरा गर्नुपरे भिडियो कल, भाइभर र म्यासेन्जरमा वा फेसबुकजस्ता सामाजिक सञ्जालमा व्यस्त हुन थालेका छन्। इन्टरनेटले सुदूरलाई विश्वसँग जोडिरहेको छ। 
यसैबीच देशैभर अहिले अर्को पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षणको तयारी भइरहेको छ। 

तर पनि कतिपय दुर्गम स्थान जहाँ मोबाइलको टावरले काम गर्दैन र सञ्चारको पहुँच बाहिर छ। सूचना प्रविधिका दृष्टिले त्यहाँका स्थानीयबासीको हालत मेरो बालापनको जस्तै छ वा त्योभन्दा पनि दयनीय। सञ्चारविहीन बनेका उनीहरुलाई पनि विश्वसामु जोड्न सरकार र समुदायले थप पहल गर्न आवश्यक छ।

विकृति विसंगति 

यस्तै इन्टरनेटले विभिन्न विकृति एवं विसंगति समेत नभित्र्याएको हैन। बालबालिकाहरुले स्मार्टफोन, आइप्याड, ल्यापटप तथा टेलिभिजनमा युट्युब, टिकटक, कार्टुन, गेम, फेसबुक लगायत सामाजिक सञ्जालमा धेरैभन्दा धेरै समय बिताइरहेका छन्। बालबालिका तथा किशोरहरुको मोबाइलमा घोप्टिएर बस्ने समय वृद्धि भएसँगै इन्टरनेटको कुलतको जोखिम समेत बढेको छ। 

इन्टरनेटको अत्यधिक प्रयोगकै कारण बालबालिका साइबर अपराध, यौन अपराध र अन्यखाले सामाजिक अपराधीको निसानामा पर्न सक्ने जोखिम पनि निकै बढिरहेको पाइन्छ। त्यसको रोकथाम तथा नियन्त्रणका लागि समुदाय, शिक्षक तथा अभिभावकहरू सचेत बन्नु आवश्यक छ। सूचना प्रविधिको फड्कोसँगै सुदूरपश्चिमका हिमाल र पहाडदेखि तराईका समुदायमा निकट भविष्यमैँ व्यापक परिवर्तन हुने निश्चित छ। तर इन्टरनेटको स्वस्थ प्रयोग र सदुपयोग गराउने विषयमा सबै जना चेतनशील हुन अत्यावश्यक भइसकेको छ।  

(सुदूर नेपाललाई विश्वसँग जोड्ने अभिभारा बोकेको दिनेशखबर(डट)कम फागुन १४ गतेबाट चौथो वर्षमा प्रवेश गर्दैछ। यो अवसरमा हामीले सुदूरपश्चिम प्रदेशका उज्याला पक्षहरू समेटिएका विभिन्न लेखहरू प्रकाशन गरिरहेका छौँ। दिनेशखबर(डट)कममा ‘सुदूरको उडान’ शीर्षक मुनितिर छापिएका हाम्रा विशेष लेखहरू पढ्न र सुदूरपश्चिम प्रेमीहरूमाझ शेयर गर्न नभुल्नुहोला।)  

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस