कैलालीको खुटिया खोलामा १५ फिट गहिरा खाल्डा, एमालेले गर्यो अनुगमन
धनगढी : कैलालीको खुटिया खोलाको एमालेले अनुगमन गरेको छ। जिल्लाको गोदावरी नगरपालिका–८ को खुटिया खोलाको एमालेको नगर कमिटीले अनुगमन गरेको हो।
गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको सङ्कलन, बिक्री तथा वितरणका लागि ठेक्का सम्झौता गरेको छर तर, मापदण्ड विपरीत दोहन हुँदै आएको गुनासो आएपछि एमालेले स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा नगर कमिटीका अध्यक्ष सन्तोष सिंहले नगरपालिकासँग गरिएको सम्झौता अनुसार उत्खनन नभएको बताएका छन। उनले नगरपालिकाले उत्खनन गर्दा ध्यान दिनुपर्ने विषयहरू सम्झौतामा उल्लेख गरेको भए पनि सो अनुसारको काम ठेक्का पाएको पक्षले नगरेको उनले बताए। उनले भने, ‘नगरपालिकाले सम्झौतामा उत्खनन गर्दा ध्यान दिनुपर्ने विषयहरू पनि उल्लेख गरेको छ। त्यसको पहिलो बुँदामै खोलाको आकृति तथा बहाउ बिग्रिने गरी नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गर्न पाइने छैन भनेको छ। तर यहाँ ठुलठुला पोखरीहरू बनेका छन्। पहिलो नम्बरकै नियमको पालना भएको देखिँदैन।’
खुटिया खोलामा १५ फिट भन्दा गहिरा खाल्डाहरू बनाइएका छन। तर, एक मिटर भन्दा गहिरो खन्न नहुने भनिएको छ। अध्यक्ष सिंहले नदीजन्य पदार्थहरू अनुमति लिएको आधारमा उठाउनुपर्नेमा दोहन गरेको पाइएको बताए। उनले आफूहरूले सोचेको भन्दा भयावह अवस्थामा दोहन गरी नदीजन्य पदार्थ सङ्कलन गरेको भेटिएकाले यसको नियमन गर्न आवश्यक रहेको बताए। तर, गोदावरी नगरपालिकाले प्रहरीले सवारी नियन्त्रणमा लिदाँ पनि स्थलगत अनुगमन गरेको छैन।