सिकलसेलको उपचार गर्न गेटा र सेतीमा छुट्टै कक्ष सञ्चालन गर्न निर्देशन
धनगढीः सेती प्रादेशिक अस्पताल धनगढी र गेटा अस्पतालमा सिकलसेल एनिमियाका बिरामीका लागि छुट्टै कक्ष सञ्चालन गरिने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०/१० शय्यासहितको सिकलसेल एनिमिया कक्ष सञ्चालन गर्न निर्देशन नै दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत सरकारको सहयोगमा सिकलसेलको परीक्षण, उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने भएको छ। पश्चिम नेपालको तराईमा बसोबास गर्दै आएका थारू समुदायमा देखिने रोग निवारणका लागि यस्तो व्यवस्था गरिन लागेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेती अस्पतालको निरीक्षण गर्दै १० शय्याको किसलसेल कक्ष सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले भने, ‘बढीमा १० शय्याको, नभए पाँचको कक्ष सञ्चालन हुनेछ। मित्रराष्ट्र भारतको सहयोगमा निःशुल्क औषधी उपलब्ध गराउने छौ।’ कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायको वंशनास हुने चिन्ता गरिएका बेला मन्त्रालयले भारत सरकारसँग सहयोग माग गरेको छ। भारत सरकारको सहयोगमा सिकलसेलको परीक्षण, उपचार तथा औषधी निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए।
सेती प्रादेशिक अस्पताल र गेटा अस्पतालमा सिकलसेल एनिमियाका बिरामीका लागि छुट्टै कक्ष सञ्चालन गर्न निर्देशन दिएको उनले बताए। सेती अस्पतालमा १० र गेटा अस्पतालमा १० शय्या सिकलसेलका बिरामीका लागि छुट्याउन भनिएको छ। मन्त्री पौडेलले भने, ‘बिरामीलाई यस्तो कक्ष सञ्चालनमा ल्याएपछि सहयोग पुग्नेछ। सेतीमा पूर्वाधारकोसमेत अभाव रहेछ।’ सेती प्रादेशिक अस्पतालले २०७६ फागुन पहिलो हप्ताबाट सिकलसेल एनिमिया रोगको निःशुल्क उपचार सुरु गरेको थियो। नेपाल सरकारको सामाजिक सेवा, इकाईमार्फत सो अस्पतालले निःशुल्क उपचार सेवा सुरु गरेको हो। एक लाख रुपैयाँसम्म सामाजिक सेवा इकाइ र एक लाखभन्दा बढी खर्च आए, सुदूरपश्चिम प्रदेश सरकारले खर्च बेर्हाेदै आएको छ। तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत सरकारको सहयोगमा समुदायस्तरमा समेत जनचेतनाका कार्यक्रम सञ्चालनको तयारी गरेको छ। यसका लागि सेती र गेटाको बिचमा सहकार्य हुने मन्त्री पौडेलले बताए।
सेती अस्पतालबाट हालसम्म ९९३ जनाको उपचार हुँदै आएको छ। कैलालीका ७२४ र कञ्चनपुरका २६९ जनाले सेती प्रादेशिक अस्पतालबाट सेवा लिदै आएका छन्। सेतीमा ५१२ महिला र ४८१ पुरुषले सिकलसेलको उपचार सेवा लिँदैछन्। गत वर्ष ७९ जना नयाँ बिरामी थप भएका छन्। चालु आर्थिक वर्षको मंसिरसम्म ४३ जना नयाँ बिरामी थप भएका छन्।