सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्राफिक प्रहरी अनिवार्य मास्क प्रयोग गर्न आग्रह गर्दै

२०७७ असार २६, ०२:११ रासस

महेन्द्रनगर : जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ। कार्यालयले बजार क्षेत्रमा निगरानी बढाउँदै यस्तो आग्रह गर्न थालेको हो।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्ड सहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन्। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दैै हिँडेको उनको भनाइ छ।

पाँच दिनअघि गृह मन्त्रालयले विना मास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ। “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने,“विस्तारै निगरानी र कारवाही अघि बढ्छ।”

विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने  प्रहरीले जनाएको छ। प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ।

“सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उनले भने, “मास्क आफँै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ।”

जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ।

 

कमेन्ट लोड गर्नुस