सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि ज्ञान केन्द्र कञ्चनपुर विरुद्ध अख्तियारमा उजुरी कायम, विस्तृत अनुसन्धान गरिने

२०७७ असार २४, ०१:५२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुर विरुद्ध अख्तियारमा उजुरी कायम भएको छ।

ज्ञान केन्द्रले कृषि अनुदान वितरणमा प्रक्रिया मिचेर लाभग्राही छनौट गरेको भन्दै परेको उजुरी कायम गरी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका निमित्त प्रमुख जयराम श्रेष्ठले प्रारम्भीक अनुसन्धानका क्रममा कैफियत देखिएपछि उजुरी कायम गरेर थप अनुसन्धानका लागि प्रक्रिया अगाडी बढाएको जानकारी दिए।

श्रेष्ठले उक्त उजुरीमा विस्तृत अनुसन्धानका लागि फाइल केन्द्रीय कार्यालय पठाईएकाले थप प्रक्रिया उतैबाट अगाडी बढ्ने बताए। यसअघि अनुदान वितरणमा अनियमितता भएको भन्दै  कृषि ज्ञान केन्द्र कञ्चनपुर विरुद्ध परेको उजुरीका आधारमा अख्तियारको महेन्द्रनगर कार्यालयले असार १५ गते कागजात नियन्त्रणमा लिएको थियो।

ज्ञान केन्द्रले वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत अनुदानमा कृषि यन्त्र उपकरण वितरण कार्यक्रममा लाभग्राही छनौट गर्दा प्रक्रिया मिचेर अनियमितता गर्न खोजेको भन्दै अख्तियारमा उजुरी परेको छ।

ज्ञान केन्द्रले सेटिङमा पहुँच भएका व्यक्तिलाई अनुदानका लागि छनौट गरी अरुलाई वाईपास गरेको, आपुर्तिकर्तासँग मिलेमतो गर्दै प्रक्रिया थाल्ने बेला सेटिङमा यन्त्र उपकरण खरिद गरी वितरण गरिरहेको दावी उजुरीकर्ताको छ।

यस्तै लाभग्राहीले इच्छाएको नभई आफ्नो अनुकुल पर्ने फार्मबाट अनुदानको सामाग्री खरिद गर्न बाध्य पारेको गुनासो समेत गरिन थालिएको छ।

 यता कृषि ज्ञान केन्द्र कञ्चनपुरले भने अनुदान वितरणको कार्यक्रम आफ्नो नभएको जनाएको छ।

ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले अनुदान वितरण एवंम् आपुर्तिकता छनौटका काम कृषि निर्देशनालयबाट भएको तर लाभग्राहीको आवेदन माग गरी छनौटको काम मात्र ज्ञान केन्द्रबाट भएको बताए।

तर उजुरीकर्ताको दावी अनुसार कुनै खालको बदमासी नभएको दावी प्रमुख भट्टले गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस