सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टरलाई पत्र

२०७६ चैत्र २५, ११:३२

हिक्मत शाही

प्रिय डाक्टर 
मीठो सम्झना 

तिमीलाई चिठी लेखुन्जेलसम्म शारीरिकरुपमा सन्चै आरामै भएपनि मानसिकरुपमा थेग्नै नसकिने तनावको भारि बोकेर बाँचेको छुँ। आशा छ तिमीलाई पनि सन्चै आरामै होला। र पनि भगवानसँग लाखौं प्रार्थना छ। तिम्रो सुश्वास्थ्य अनि दीर्घायुको। 

प्रिय डाक्टर !
भगवानमा असीम आस्था राख्ने मान्छे हुँ म। भगवान प्रति म मा जति आस्था छ त्यतिकै आशक्ति पनि तर किन हो कुन्नी मेरो आस्थाको देउता आजसम्म मेरा सामुन्ने साक्षात प्रकट भएको छैन ? उसलाई मैले मुर्ति, तस्विर अनि कल्पनामा मात्रै देखेको हुँ। मैले मन्दिर, मस्जिद, चर्च, गुम्बा अनि गुरुद्वारामा देख्ने गरेको देउता समग्रमा जस्तो छ सारमा पनि त्यस्तै भाव अनि प्रतिक्रिया बिहिन छ। मैले देखेको देउतासँग मेरा एकपटक होइन अनेक पटक आँखा जुधेका छन्। म उसलाई देखेर मुसुक्क मुस्कुराउँछु तर किन हो कुन्नि उ उपेक्षा भावले मलाई देखेर टोलाउँछ मात्रै। तिमीलाई नढाँटी भनुभने यथार्थमा देउतासँग साक्षातकार गर्ने अवसर यो चिठी लेखुन्जेल मलाई पराप्त भएको छैन। हुनसक्छ मेरो आस्था अनि आराधनामा कुनै खोट वा कमजोरी होस् ? तर पनि ज्यूँदो देउतासँग साक्षात्कार गर्ने मेरो रहर कहिल्यै मर्ने छैन्। 

प्रिय डाक्टर !
म फेरि पनि भन्छु मलाई मन्दिर, मस्जिद, चर्च, गुम्बा अनि गुरुद्वारा भित्र कैदी बनेको देउता देख्दा कता–कता अमुर्त चित्रकला हेरेजस्तो जस्तो लाग्छ। एक किसिमले भन्ने हो भने रहस्य अनि श्वेरकल्पना जस्तो। जति बुझ्यो झन कठिन। मेरो आस्थाको तेस्रो नेत्र नखुलेसम्म त्यो फगत रहस्य नै बनेर रहोस् मलाई कुनै गुनासो छैन तर डाक्टर, ज्युँदो देउतासँग कुनै दिन मेरो साक्षातकार भयो भने त्यो पक्कै पनि तिमीजस्तै दयालु अनि मित्रबत होला भन्ने म अहिल्यै अनुमान गर्न सक्छु। 

प्रिय डाक्टर !
कोरोनाको त्रासले म लकडाउनमा छुँ। तिमी कोरोनासँग युद्ध लडिरहेका छौँ। युद्ध मैदानमा तिमी छौ र पो म पनि घरमा सुरक्षित छुँ। आफु हारेर भएपनि मानव अस्तित्वलाई जीवित राख्ने तिम्रो सङ्कल्प देखेर म श्रदाले नतमस्तक बनेको छुँ। तिमी छौ र पो म छुँ। सर्वप्रथम म जीवित रहन तिमी सुरक्षित रहनु पर्छ। मेरो अस्तित्वको सार केबल तिमीमा टिकेको छ। तिम्रो अस्तित्वमा प्रश्नचिह्न लाग्दा मेरो अस्तित्वको कुनै मूल्य हुनेछैन। तिमी सेना नायक हौ भने म सामान्य सेना। सेना नायक पराजित भएको युद्ध केहि काल सम्म लडिन्छ मात्रै जितिदैन। त्यसैले तिम्रो बिजय अनि पराजयमा मेरो पनि बिजय र पराजय निर्धारण हुने निश्चित छ। त्यसैले मैले जित्न सर्वप्रथम तिमीले अपराजित हुन जरुरी छ। 

प्रिय डाक्टर !
बिडम्बना के छ भने स मेरो देशमा तिमीलाई अस्त्र बिहिन निहत्थो अनि लाचार सिपाही बनाएर बलबान सत्रुसँग लडाइँदै छ। हातमा ढाल समेत नभएको एउटा लाचार सिपाहीले बलबान सत्रुको तरवारको बलियो प्रहरलाई कसरी थेग्न सक्ला र ? तिम्रो युद्ध कौशल अनि नायकत्वमा मलाई पूर्ण बिश्वास छ। तिमी अर्जुन जस्तो बलबान योद्धा भएर पनि सारथी कृष्ण जस्तो बुद्दिमान पाउन नसक्नु तिम्रालागि बिडम्बना भएको छ। तिमी हारेको लडाइँमा जीत कसैको पनि हुनेछैन। तिम्रो पराजयमा हामी सबैको पराजय निश्तित छ। 

प्रिय डाक्टर !
घर परिवार तिम्रो पनि छ। आमाबा, जहान–परिवार, छोराछोरी, इस्ट–कुटुम्ब तिम्रा पनि होलान ? भोक, थकान अनि निन्द्रा तिमीलाई लाग्दो होला ? आफ्नै जीवनको माया अनि आफन्तको सम्झनाले तिमीलाई पनि पलपल चिमोठ्छ होला ? आफु असुरक्षित भएर पनि अरुको सुरक्षाका लागि अहोरात्र खट्ने तिमी साँच्चै महान छौ। तिमीलाई न थाकेको देख्छु न जिम्मेवारीबाट भागेको देख्छु। यहाँ आदर्शका ठूल्ठूला कुरा गरेर जिम्मेवारीबाट भाग्नेहरु तमाम छन्। तर तिम्रो आदर्श अनि जिम्मेवारीका बिच गहिरो ताममेल छ। त्यसैले त मैले आजसम्म नदेखेको मेरो अदृश्य आस्थाको देउताको प्रतिविम्बित तिमीमा देखेको हुँ। मेरो आस्थाको देउता यथार्थमा कस्तो छ कुन्नि ? तर मैले उसलाई कतै सेतो कोट अनि टाइमा सजिएको देख्ने सौभाग्य पाएँ भने मलाई लाग्छ उ पनि तिमी जस्तै दयालु अनि सहयोगी होला ? 

प्रिय डाक्टर !
तिमीलाई तिम्रो पेसागत म¥यादा अनि नैतिक कर्तव्यले जिम्मेवारीबाट भाग्न दिइरहेको छैन्। त्यसैले त तिमी अहोरात्र अर्थात चौबीसै घण्टा सेवामा समर्पित छौ। नागरिकहरुलाई सुरक्षित राख्न सर्वप्रथम डाक्टर (स्वास्थ्यकर्मी) सुरक्षित हुनुपर्छ भन्ने कुरालाई राज्यले किन नबुझेको होला डाक्टर ? तिमीसँग कोरोनासँग लड्ने न्युनतम उपकरण पनि छैनन् भनेको सुन्दा मन अमिलो बनेर आउँछ अनि राज्य संयन्त्रलाई धिक्कार्न मन लाग्छ। फेरि यस्तो सम्वेलनशील अनि सङ्गिन समयमा समेत उपकरण खरिदमा अनियमितता भएको सुन्दा मलाई समेत यति दुःख लागेको छ भने तिम्रो मन झन कति रोइरहेको होला ? मान्छे , यति सम्वेदनशील समयमा पनि यति सम्वेदनहीन कसरी बन्न सकेको होला डक्टर ? मलाई झैं तिमीलाई पनि ताजुब लाग्छ होला। जन्मदा नाङ्गै आउने अनि मर्दा नाङ्गै जाने मानिसले यति धेरै पापचार गरेर किन बाँच्नु परेको होला ? फेरि जीवनको अनिश्चितताको बारेमा जनकार हुँदाहुँदै पनि मान्छे यति धेरै स्वार्थी अनि पापी कसरी बन्न सकेको होला ? 

प्रिय डाक्टर !
तिमीलाई नढाँटी भन्नुपर्दा मैले मेरो आस्थाको देउतालाई झैं आजसम्म न स्वर्गबाट तल झरेको मान्छे देखेको छुँ न त नर्कबाट माथि उक्लिएको मानिस नै। तर पनि स्वर्ग नर्क प्रति ममा झिनो भएपनि विश्वास चैं छ। मलाई लाग्छ यस्तै पापीहरुका लागि नर्कको परिकल्पना गरिएको होला ? मर्दा पापको पोको बाँधेर जानेहरु अन्ततः त्यतै जाने त होला नि हैन र ? ठूल्ठूला तेलका कराहीहरुमा तेल पनि तिनकै लागि उमालिएको होला सायद ? तर पनि यिनले न ज्युँदो छउन्जेल अपराध बोध गरेको देख्छु न त यिनलाई मरेपछि नर्कको नै डर छ। तर एउटा कुरा के चैं सत्य हो भने बाँचुन्जेल यिनका आत्माले धिक्कार चाँही अवस्य गर्ने छ। आत्माले धिक्कारेर बाँच्न कम्ता गार्हो होला र ? 

प्रिय डाक्टर !
रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान छ। तर अब न रात बाँकी छ न त अग्राख पलाउने कनै सम्भावना नै। यस्तो अवस्थामा लागिसकेको डढेलोको पहिलो झिल्का निभाउन अबेर भयो भने सिंगै घर खरानी र राखको थुप्रो बन्न समय लाग्ने छैन्। यस्तो अवस्थामा तिम्रो एक्लो प्रयासले मात्र केहि हुनसक्ने अवस्था छैन्। राज्य आफ्नो स्तरबाट अनि नागरिक आफ्नो स्तरबाट सचेत अनि जागरुक बन्न सकेन भने तिमीले समेत रामराम मात्र भन्न सक्ने हो। पुच्छर समातेर भिरमा लढ्दै गरेको गोरुलाई तिमी थाम्न सक्दैनौ। 

प्रिय डक्टर !
अन्त्यमा,

तिमी जहाँ जस्तो अवस्थामा छौ ? सुरक्षित भए बस्नु। तिमी सुरक्षित भए मात्रै म पनि सुरक्षित रहन सक्ने छुँ। म फेरि पनि भन्छु मैले मरो आस्थाको देउतालाई आजसम्म देखेको छैन्। मैले खुल्ला आँखाले देख्ने भगवान केबल तिमी हौ। त्यसैले म बाँच्न सर्वप्रथम मेरो भगवान सुरक्षित हुन जरुरी छ। 

हुन्छ त डक्टर !
तिमीले अस्पतालमा उपचार गरिरहेको कोरोनाको अन्तिम बिमारीलाई सकुशल घरमा डिस्चार्ज गर्न सक्यौ र मैले पनि लकडाउनलाई इमान्दारी पूर्बक पालना गरेर हामी दुबै बाँच्न सफल भयौं भने हाम्रो भेट अवस्य हुनेछ। 

अस्तु !!

(लेखक–पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, सिलगढी डोटीमा शिक्षण पेशामा आवद्ध छन्।)

कमेन्ट लोड गर्नुस