शुक्लाफाँटामा बाघको आहारा धेरै
धनगढीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका अन्य निकुञ्जको तुलनामा बाघको आहारा सबैभन्दा धेरै रहेका छन्।
निकुञ्ज कार्यालयका अनुसार बाघले खाने बाह्रसिङ्गा, बँदेल, मृगलगायतका आहारा प्रजाति सबैभन्दा धेरै रहेका पाइएको छ। निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा बाघको आहारा प्रजाति १४६ वटा पाइने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।
उनी भन्छन्, “यति धेरै आहारा प्रजाति मुलुकको अन्य कुनै पनि राष्ट्रिय निकुञ्जमा पाइँदैन्। धेरै बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटर क्षेत्रमा ९० वटा आहारा प्रजाति पाइने गरेको छ।’’ शुक्लाफाँटामा आहारा प्रजातिका जनावर धेरै पाइने गरेकाले निकुञ्जका बाघ निस्केर गाउँबस्तीतर्फ गएर हानि नपु¥याएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ। उनले भने, “हाम्रो यहाँ आहारा प्रजाति धेरै भएकाले आहाराको खोजीमा बाघ निकुञ्जबाट निस्केर बस्तीतिर गई क्षति पु¥याएको छैन।”
२०२२ को राष्ट्रिय बाघ गणनामा यो निकुञ्जमा ३६ वटा बाघ अभिलेख भएका थिए तर पछिल्लो आन्तरिक अनुगमनबाट निकुञ्जमा ४४ वटा बाघ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। यो सङ्ख्या बाघ पाइने सबैभन्दा कम क्षेत्रफलमा धेरै हो। एउटा भाले बाघलाई आहारविहार गर्नका लागि ६१ देखि ६५ किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको प्रमुख संरक्षण अधिकृत चौधरीले बताए। त्यस क्षेत्रमा कम्तीमा पाँच वटासम्म पोथी बाघ पनि रहने गरेको जनाइएको छ।
यसैबिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ। फागुन अन्तिमबाट सुरु गरिएको गणना कार्र्य चैत १७ गते नै सकिएको हो। राष्ट्रिय सर्वेक्षण कार्यक्रम अन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना गरिएको थियो। गणना सकिएर विभागले तथ्याङ्क विश्लेषण गरिरहेको चौधरीले जानकारी दिए। निकुञ्जमा बाघ गणनाका लागि ७७ जना प्राविधिक परिचालन गरिएको थियो भने ५२० वटा क्यामरा राखिएको थियो।