सुदूर नेपाललाई विश्वसँग जोड्दै

उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटनामा कमी

। फोटो स्रोत ।
२०७६ असोज ९, ०४:३१ खबर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना घटेको बताएका छन्। क्यानडाको मन्ट्रियलमा जारी अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको सुधार र मौसमी अवस्थालाई ध्यान दिएका कारण हवाई दुर्घटनामा कमी आएको उल्लेख गरे।

हवाई क्षेत्रमा आएका नयाँ प्राविधिक आयामको भरपुर उपयोग गर्दै उड्डयन सुरक्षालाई चुस्त र दुरुस्त बनाउन थप हवाई सुरक्षा मापदण्ड कायम गरिएको जनाउँदै उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको बताए।

नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नति  र नयाँ अन्तराष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीतिका साथ सञ्चालन गर्न लागेको समेत जानकारी गराए।

उनले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यस अवसरमा जानकारी गराउँदै सहभागिताका लागि सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ।

आइकाओ मुख्यालय मन्ट्रियलमा भएको महासभामा १९३ देशका प्रतिनिधि र एक हजारभन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। यही असोज सात गते अर्थात् (सेप्टेम्बर २४)  देखि शुरु भएको महासभा आगामी असोज १७ (अक्टोबर ४ सम्म) चल्नेछ।

महासभामा पर्यटनमन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन्। महासभाको दौरानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग हवाई सम्झौता हुनेछ।

त्यसैगरी अष्ट्रेलियासँग हवाई वार्ता हुने जनाइएको छ। नेपालले अष्ट्रेलियाको सिड्नी गन्तव्य सिधा उडानका लागि पहल गर्दै आएको छ।  पर्यटन मन्त्री भट्टराईले हालै एक कार्यक्रममा अष्ट्रेलियासँग हवाई सम्झौताका लागि कुराकानी हुने बताएको थियो।

कमेन्ट लोड गर्नुस